मन्त्री नेम्वाङका सय दिने काम ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुर्दा विशेष उपलब्धी

फागुन १७, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरेको बताएका छन् । मन्त्री नेम्वाङले १ सय दिनमा गरेको कामलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखेका छन् ।
उनले सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको बताउँदै आफ्नो ए कसय दिने काममा महत्वपूर्ण उपलब्धी हासिल गरेको दावि गरेका छन् ।
नेम्वाङले काठमाडौं उपत्यकामा २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको बताएका छन् । मन्त्री नेम्वाङले २७ किलोमिटर कालोपत्रे गर्ने कार्यलाई गौरव गर्न लायक काम भनेर उल्लेख गरेका छन् । ‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके तापनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ,’ मन्त्रीको प्रगति विवरणमा उल्लेख छ ।

मन्त्री नेम्वाङले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।
काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको पनि बताए । सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर र अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय उल्लेख गरे ।
उनले राजधानीमा ट्राफिक जाम व्यवस्थापन गर्न इन्टेलिजेन्ट ट्राफिक सिस्टम लगाइएको विषयलाई पनि प्राथमिकताका साथ राखे । सय दिनको अवधिमा काठमाडौंका १७ वटा चोकमा ट्राफिक लाइट बालिएको छ । बाँकी ६ वटा चोकमा असार महिनाभित्र मर्मत गरी सञ्चालनमा ल्याइने यातायात मन्त्री नेम्वाङले बताएका छन् ।
दीर्घकालीन रुपमा चोकहरुमा हुने ट्राफिक जाम व्यवस्थापन गर्नका लागि इन्टेलिजेन्ट ट्राफिक सिस्टम (आईटीएस) प्रविधि अपनाउनुपर्ने देखिएकाले सो कार्यका लागि परामर्शदाता छनोटको प्रक्रिया पनि अगाडी बढाइएको छ । मन्त्रालयले पैदलयात्रुहरुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङ्गरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण कार्य सम्पन्न भइसकेको र बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासेपुल निर्माणको डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापन प्रक्रियामा रहेको जनाएको छ ।
यस्तै काठमाडौं उपत्यका चक्रपथ बिस्तारको दोस्रो खण्डको रुपमा कलंकी–महाराजगञ्ज खण्ड विस्तारका लागि रुख काट्ने, बिजुली र टेलिफोनका पोलहरु सार्ने उक्त खण्डमा जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाइएको छ । तिनकुने–एयरपोर्ट–तिलगंगा सडकखण्डलाई आठ लेनमा स्तरोन्नती गर्न डीपीआरको काम सकिएको छ । मन्त्रालयले १५ सय वटा रुग्ण आयोजनाको म्याद एक वर्ष विनासर्त थप गरेको पनि जनाएको छ ।








