‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद : डा. सुरेन्द्र केसी

माघ २३, काठमाडौं । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । उनले ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।
‘जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ डा. केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।’ उनले गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे ।
विजयकुमार गच्छदार पटक–पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, ‘गच्छदार भ्रष्टाचारी हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।’
null
केसीले नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए ।
प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गर्दै उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’
उनले नेपाल नै भ्रष्ट मुलुक भएको टिप्पणी गरेका छन् ।
‘आलम काण्डदेखि शेरबहादुर तामाङसम्मको काण्ड हेर्दा विभेदित श्रृंखला देखिएको छ । आलमलाई त्यही पुर्याउनेहरु किन मुछिएनन् ? यो विभेद हो’ उनले भने ।
उनले लोकमानसिंह कार्कीलाई लखेटेर दिप बस्न्यातलाई किन ल्याईयो ? भन्ने कुरा अहिले थाहा भएको बताए ।
डा. केसीले नेपालमा पद किनेर पाईने पनि बताए । उनले भने,‘कांग्रेसका एक जना साथीले ३० लाख बुझाएर म मन्त्री भएँ भनेर मसँग भने ।’ उनले यो कतै कांग्रेसभित्रकै आन्तरिक राजनीति त कारण होईन भनेर प्रश्न गरे ।
केसीले बालुवाटार खानेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्दै नेपालमा अख्तियारले अघि बढाएका मुद्दाहरु ९० प्रतिशत असफल भएको तर्क गरे । उनले भने,‘यस्तो अवस्थामा हामी हौसिनु कतिको उचित हुन्छ ?’








