७० बर्ष नाघेकाले निःशुल्क चन्द्रागिरिमा केवलकार चढ्नुस्

 फागुन १६, चन्द्रागिरि ।  ७० बर्ष नाघेका बृद्ध–बृद्धाले काठमाडौँको चन्द्रागिरिमा निःशुल्क केवलकार चढ्न पाउँने भएका छन् ।  ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडले प्रर्वधित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको हो ।   

बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अर्न्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।   

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नि:शुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । त्यसका अतिरिक्त तीन फीटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत नि:शुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *