गलकोटमा हुने अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशाला पुर्ण पाठ सहित

माघ २२, बागलुङ । गलकोटमा अन्तरार्ष्ट्रिय मूर्तिकला कार्यशाला हुने भएको छ । कार्यशालामा विदेशी सहित १५ मूर्तिकारले भाग लिदैँ छन । गलकोट नगरपालिका वडा नं हरिचौर ५ टेउवामा आगामी फागुन ५ गतेदेखि २१ गते सम्म अन्तरर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला गर्न लागिएको हो । 

 कार्यशालाका लागि अहिले आवश्यक तयारी भईरहेको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर रानाले जानकारी दिए । कार्यशालास्थलमा सडक, भवन, शौचालय लगायतका संरचना बनिसकेका छन् । अध्यक्ष रानाले भने, ‘खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोजस्थल र घेराबारको काम अन्तिम चरणमा पुगेको छ।’ कार्यशालाका लागि आर्थिक वर्ष ०७३र०७४ देखि तयारी अगाडि बढेको थियो। हालसम्म पूर्वाधार निर्माणमा ८६ लाख ९३ हजार रुपैयाँ खर्च भइसकेको प्रतिष्ठानले जनाएको छ।  

कार्यशाला सम्पन्न गर्दासम्म थप एक करोड ४१ लाख ७८ हजार रुपैयाँ खर्च हुने प्रतिष्ठानले बताइएको छ। कार्यशालाका लागि कूल दुई करोड ३० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। कार्यशालाका लागि विभिन्न व्यक्तिबाट सहयोग प्राप्त भइरहेको प्रतिष्ठानले जनाएको छ। रानाले भने ‘कुलबहादुर बस्नेत, झङ्कबहादुर बस्नेत, मानबहादुर खत्री र टीकाकुमारी खत्रीबाट करिब ३० लाख रुपैयाँ मूल्य बराबरको २३ रोपनी जग्गा निःशुल्क प्राप्त भयो ।’ जग्गाको पाएसँगै कार्यशालाका लागि पूर्वाधार तयारीको कामले गति लिएको थियो।  कार्यशालामा मूर्ति कुँद्न योग्य ढुङ्गा वडा नं ३ हटियाका दीपक बोहराले निःशुल्क उपलब्ध गराएका छन्। बोहरागाउँको सहस्रधारा क्षेत्रबाट दुई टनभन्दा ठूला १५ वटा ढुङ्गा सङ्कलन गरिएको रानाले बताए। “तीनै तहका सरकारदेखि सर्वसाधारण व्यक्तिबाट पनि सहयोग प्राप्त भइरहेको छ”, उनले भने कार्यशालाका लागि गत आवमा सङ्घीय सरकारबाट ५० लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। गलकोट नगरपालिकाले पनि तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। नगरको बजेटबाट कार्यशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।  

चालू आवमा गण्डकी प्रदेश सरकारले ३० लाख रुपैयाँ, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट दश लाख रुपैयाँ र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’बाट पाँच लाख सहयोग रुपैयाँ प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । यस्तै, व्यक्तिगततर्फ स्थानीय भीमकुमारी काउचाबाट पाँच लाख, पूर्णबहादुर रानाबाट तीन लाख, तिलबहादुर खत्रीबाट तीन लाख, शान्ति श्रीसबाट तीन लाख, दलबहादुर पुनबाट एक लाख दश हजार, यमबहादुर श्रीसबाट एक लाख र फमलाल न्यूरेबाट एक लाख रुपैयाँ प्राप्त भएको जनाइएको छ। 

रानाले भने ‘एक लाखभन्दा तल सहयोग गर्ने धेरै हुनुहुन्छ, काठमाडौँ, पोखरामा पनि सहयोग अभियान चलिरहेको छु ।, हामीले झण्डै एक करोड रुपैयाँ जति थप बजेट व्यवस्थापन गर्नुपर्ने भएको छ।’ कार्यशालामा स्वदेशी र विदेशीसहित १५ मूर्तिकार भाग लिँदैछन्। कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिथाकोटेले भाग लिने छन् । यस्तै जापानबाट जुन इचिरो सुगीमोतो, चीनबाट लिउ याङ, इटालीबाट बिटिनो फ्रान्सेनी, फ्रान्सबाट जिवियर्स गोँजालेज, ताइवानबाट लिन लि जेन, क्यानडाबाट जुली ग्ल्यास्पी, भारतबाट टुटु पटानायक, इजरायलबाट तान्या प्रिमिङ्गर, ब्राजिलबाट जर्जलुइज र युक्रेनका मूर्तिकार ल्युड्मेल कार्यशालामा सहभागी हुनेछन् ।  

कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी २०५ जना मूर्तिकारले आवेदन दिएकोमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह–प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।’ अन्तर्राष्ट्रिय स्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए। गलकोमै जन्मिएका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो । संयोजक खत्रीले भने, ‘हामी सबै फागुन ४ गते नै कार्यशालास्थलमा पुग्छौँ, ५ गते औपचारिक शुभारम्भ हुन्छ।’ कार्यशालामा सहभागी हुने मूर्तिकारलाई फागुन १३ गते गलकोटका पर्यटकीयस्थल भ्रमण गराइने कार्यक्रम रहेको उनको भनाइ छ । मूर्तिकारले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ। कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। मूर्तिकला सङ्ग्रहालय, कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमी लगायतलाई अध्ययन, अनुसन्धानको केन्द्रसमेत बन्नेछ। कार्यशालाले नेपाल भम्रण वर्ष–२०२० लाई पनि टेवा पुर्‍याउने प्रतिष्ठानले जनाएको छ । टेउवा पर्यटकीय स्थल घुम्टेको काखमा अवस्थित सुन्दर अनि मनोरम डाँडा हो । त्यहाँ बाट विभिन्न मनोरम हिमश्रृङखलाहरु सँगै गलकोट र आसपास अनि छिमेकी जिल्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *