समयमै निर्माण भएन गौतमबुद्ध विमानस्थल, चौथोपटक म्याद थपिँदै

पुस १६, रुपन्देही। भैरहवामा निर्माणाधिन गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल निर्माणका लागि चौथो पटक म्याद थपको प्रक्रिया अघि बढेको छ।
तेस्रो पटक थपिएको म्याद ३१ डिसेम्बर २०१९ अर्थातः हिजो नै सकिएको छ । तर निर्माण कार्य सकिएको छैन ।
आयोजनाको ८५ प्रतिशत काम सकिएको र बाँकी १५ प्रतिशत काम सक्न तीन महिना लाग्ने निर्माण कम्पनीको दाबी छ। निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसनले अघिल्लो साता नै म्याद थपका लागि निवेदन दिएको थियो।

तेस्रो पटकको म्याद २०१९ को डिसेम्बरसम्म पनि निर्माणको काम नसकिने देखेपछि कम्पनीले चौथो पटक म्याद थपको लागि निवेदन दिएको हो।
निर्माण कम्पनीबाट धमाधम काम भइरहेको र काम अन्तिम चरणमा रहेकाले म्याद थप्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । खासगरी भौतिक संरचना निर्माणको काम सम्पन्न गरेर सञ्चार उपकरणसहित इन्टेरियरको काम भइरहेको छ ।








