मनपरी शुल्क असुल्दै बर्दियाका स्थानीय तह

माघ १५, बर्दिया । बर्दियाका स्थानीय तहले सर्वसाधारणबाट मनपरी शुल्क असुल्दै आएका छन् । नागरिकता, व्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिफासिर बनाएबापत स्थानीय सरकारले नागरिकहरुबाट चर्को कर उठाउने गरेका हुन् । 

स्थानीय तहले सात सय ५० देखि एक हजार ८५० रुपैयाँसम्म सामान्य सिफारिसमा कर उठाउने गरेको पाइएको छ ।   

बारबर्दिया नगरपालिकाले एक हजार ८५०, बढैयाताल गाउँपालिकाले एक हजार ६८०, ठकुरबाबा नगरपालिकाले एक हजार ४००, बाँसगढी नगरपालिकाले एक हजार १५०, राजापुर नगरपालिकाले ९६५, गुलरिया नगरपालिकाले ९५५, गेरुवा गाउँपालिकाले ८३०, मधुवन नगरपालिकाले ७५० सर्जिमिन नाता प्रमाणितसहित नागरिकता सिफारिस दस्तुर लिने गरेका छन् ।   

व्यक्तिगत घटना दर्ता घटना घटेको ३५ दिनसम्म निःशुल्क र त्यसपछि १० देखि अधिकतम ५० सम्म लिन पाउने व्यवस्था व्यक्तिगत घटना दर्ता ऐनमा भए पनि ऐनविपरीत केही पालिकाले १५० लिने गरेका छन्। सेवा क्षेत्रमा लिइने सेवा शुल्कमा जिल्लाभरी एकरूपता अपनाउन जिल्ला प्रशासन कार्यालयले गतवर्ष अनुरोध गरे पनि कतिपय पालिकाले परिषद बैठक सकिएको भनेर एकरूपता कायम गर्न सकेका छैनन्।   

स्थानीय पालिकाहरूले नियमविपरीत बढी कर असुल्ने गरेको स्थानीयले गुनासो गरेका छन्।   

आम्दानी हुने क्षेत्रमा कर लिनु पर्ने हो, सेवाको क्षेत्रमा यति धेरै कर लिन उपयुक्त नहुने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताएका छन् । उनले यति धेरै दस्तुर लाग्छ भन्ने थाहा नभएको समेत बताएका छन् ।  यति धेरै दस्तुर लाग्छ भन्ने आफूलाई थाहा नभएको उनले बताए। मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिकाकाले तुरुन्तै दस्तुर कम गर्ने प्रतिबद्धता जनाएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।   

बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले भने, ‘परिषदबाट अनुमोदन हुने गरी कार्यपालिकाको बैठकबाट दस्तुर कम गर्नेतर्फ तुरुन्तै पहल हुनेछ, अब सबै भन्दा पहिला कुन पालिकाबाट जनताको पक्षमा निर्णय आउँछ त्यो हेर्न बाकी छ,   

आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा मात्र कर लगाउनुपर्नेमा केही स्थानीय तहले त्यसो नगरेको पाइएकाले संविधानको धारा २२८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ मा भएको व्यवस्थाबमोजिम संविधानको अनुसूची ८ मा उल्लिखित स्थानीय तहको अधिकार क्षेत्रभित्र मात्र कर लगाउनुपर्ने अख्तियारको ६१ बुँदे सुझावमा उल्लेख गरिएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *