विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका होर्डिङबोर्ड हटाइँदै

  

पुस २३, काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ । 

कामपाले मङ्गलबार मात्रै साना–ठूला गरी १९२ अनधिकृतरूपमा राखिएका होर्डिङबोर्ड हटाएको छ । कामपाले अहिले मुख्य गरेर विशिष्ट व्यक्तिहरुको ओहोरदोहोर हुने क्षेत्रलाई केन्द्रित गरेर काम अघि बढाएको छ । 

Image result for होर्डिङ बोर्ड हटाइँदै

कामपा नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार विभिन्न सङ्घ संस्थाले शहरको मुख्य स्थानमै प्रचार सामग्री राख्ने गरेकाले सोही स्थानलाई केन्द्रित गरेर काम गरिरहेको बताए । यसरी जहाँतहीँ प्रचार सामग्री राख्नेबाट कामपाले अहिलेसम्ममा रु दुई लाख जरिवाना पनि असुल गरिसकेको छ ।   

त्यसैगरी सोमबार पसलको माथि, घरको भित्तामा राखेका अनधिकृत बोर्ड विमानस्थल आसपासबाट १७, बागदरबारबाट जमल होण्डा सो रूमसम्म ५०, जमलबाट लैनचौरसम्म २५ र टेकु पुलबाट कालिमाटीसम्म ११ गरी कूल १०३ बोर्ड हटाएको नगर प्रहरी महाशाखा प्रमुख सापकोटाले जानकारी दिए ।   

सफा, स्वच्छ र सुन्दर शहर बनाउने योजनाअनुरुप नै विभिन्न ठाउँमा प्रचार सामग्री होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेटलगायत हटाउने प्रक्रिया शुरु गरेको सापकोटाको भनाइ छ । कामपाले अहिले तीनकुने, माइतीघर, टेकु र विष्णुमती पुलका आठ ठूला होर्डिङबोर्ड हटाइसकेको छ । 

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले मौलिकता बचाउनु कामपाको जिम्मेवारी रहेको भन्दै शहरलाई कुरूप बनाउने गरी चोकचोकमा राखिएका होर्डिङबोर्डलाई हटाउने काममा ढिलासुस्ती नगर्न विभागीय प्रमुखलाई निर्देशन दिएका छन् । प्रमुख शाक्यले जथाभावी राखिएको प्रचार सामग्रीका कारण कामपाले धेरै गुनासो सुन्नुपरेको भन्दै हटाउने कार्यमा ढिलासुस्ती नगर्न निर्देशन दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =