सूचना प्रविधि विधेयक सरकारले नागरिकलाई दुःख दिन ल्याएको हो, हामी पास हुन दिँदैनौँः कांग्रेस सहमहामन्त्री महत

पुस २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री डा. प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफूहरु सधैँ लड्न तयार रहेको बताएका छन् ।   

काठमाडौंमा वीपी कोइराला स्कूल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयकः नागरिक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर महतले सरकारले संसदमा लैजान लागेको सूचना प्रविधि विधेकलाई कांग्रेसले पास हुन नदिने जिकिर गरे।   

उनले प्रस्तावित विधेयकहरु मानव अधिकारलाई कुन्ठित पार्ने र सरकारका गलत कामको विरोध गर्न नपाइने किसिमको भएको भन्दै त्यस्ता विधेयकलाई सदनमा पेस नगर्न सरकारसँग उनले आग्रह गरे ।   

नागरिकको फोन ट्यापिङ गरेर दुःख दिने मनसायले विधेयकहरु आएको र ती विधेयकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने  महतले खुलासा गरे।   

नागरिकलाई दुःख दिन, सामाजिक सञ्जालकर्तालाई जरिवाना र जेल सजाय गर्नलाई नेकपालाई जनताले मत नदिएको उनको तर्क छ ।   

उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप पनि लगाए। नेकपाको सरकार बनेदेखि अरबौंको भ्रष्टाचारका काण्ड सार्वजनिक भएको भन्दै ती कान्डलाई लुकाउने उद्देश्यले सरकारले जनताप्रति कडा रुपमा प्रस्तुत हुनलाई अहिले सूचना प्रविधि विधेयक सदनमा ल्याउन लागिएको आरोप पनि लगाए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =