प्रदेश ३ : राजधानी ‘काभ्रे दुई तिहाईद्वारा अस्वीकृत

पुष २७, काठमाडौं । प्रदेशसभा ३ को नाम र राजधानी मतदानबाट टुङ्याउने भएपछि आइतबार जारी मतदानमा काभ्रेलाई बहुमतले अस्वीकृत गरेको छ । मतदानमा काभ्रे राजधानीको प्रस्तावको पक्षमा ३ मत मात्र परेको थियो ।
त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा १०१ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै काभ्रे राजधानी बहुमतले अस्वीकृत भएको घोषणा गरेका हुन् ।
प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ ।
प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन केहीबेर अघि मतदान प्रक्रिया सुरु भएको हो ।
प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ संसदीय दलको बैठकले प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौँडा कायम गर्ने समबन्धमा औपचारिक निर्णय गरिसकेको छ ।
प्रदेशसभामा कुल ११० सदस्य छन् । नाम र राजधानीको टुङ्गो लगाउन कुल सदस्यको दुई तिहाई अर्थात् कम्तीमा ७४ मत आवश्यक पर्दछ ।
अहिले राजधानी हेटौंडा कायम गर्नेबारे मतदान प्रक्रिया भइरहेको छ ।








