प्रदेश ३ : राजधानी ‘हेटौंडा’ दुई तिहाई मतद्वारा स्वीकृत

पुष २७, काठमाडौं । प्रदेश ३ को राजधानी हेटौंडा दुईतिहाई मतले स्वीकृत गरेको छ । प्रदेशसभा ३ मा आइतबार भएको मतदानमा प्रदेशको स्थायी राजधानी हेटौडा बनाउने प्रस्तावको पक्षमा १०५ मत मात्र परेको थियो ।
त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत परेको थियो । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै हेटौँडा राजधानी दुई तिहाई बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।
प्रदेशको नाम वागमती राख्न सहमत भएको विवेकशील साझा पार्टीले भने स्थायी राजधानी काभ्रेको धुलिखेल प्रस्ताव गरेको थियो । तर धुलिखेललाई राजधानी बनाउने प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको छ ।








