उडिरहेको विमानको इन्जिन अचानक बन्द भएपछि…

माघ १०, मुम्बई । भारतको मुम्बईबाट हैदरावादका लागि उडेको इन्डियो एयरलाइन्सको एक विमान २३ हजार फिटको उचाइमा रहेको अवस्थामा इन्जिन नै बन्द भएको समाचार प्रकाशमा आएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति उडान भरेको केही समयपछि अचानक इन्जिन बन्द भएको हो । विमानको इन्जिन २३ हजार फिटको उचाइमा विमान उडिरहेको समयमा अकस्मात बन्द भएपछि यात्रुहरुमा सबै खैलाबैला मच्चिएको थियो । 

इन्डिगोको ‘६ई–५३८४’ विमानको इन्जिनबाट केही आवाज आएपछि एक प्रकारको कम्पन भएको थियो । तत्कालै पाइलटले उक्त इन्जिनलाई बन्द गरेको बताइएको छ । एउटा इन्जिन बन्द भएपछि पाइलटले अर्को इन्जिनको मद्दतलाई विमानलाई नियन्त्रणमा राख्दै आपतकालीन अवतरणका लागि मुम्बई विमानस्थलमै फर्काएका थिए ।   

विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार राति १ बजेर ३९ मिनेटमा उक्त विमानलाई मुम्बई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । 

अवतरणपछि विमानको प्राविधिक पक्षको अनुसन्धान गरेका एक अधिकारीलाई उद्धृत गर्दै नवभारत टाइम्स अखबारले जनाए अनुसार इन्जिन नम्बर १ को ‘लो प्रेसर टर्बाइन नम्बर ३’मा खराबी पाइएको छ । यसले ४००६ घण्टा उडान भरिसकेको बताइन्छ । 

उक्त इन्जिनमा खराबी भएपछि अर्को ‘मोडिफाइड’ इन्जिनको मद्दतमा विमानलाई सुरक्षित रुपमा अवतरण गराइएको थियो, जसले ११९८ घण्टासम्म मात्र उडान  भरेको थियो । उक्त विमानमा ९५ जना यात्री सवार थिए ।     

इन्डिगो एयरलाइन्सका विमानको ‘प्राट एन्ड ह्विटनी’ इन्जिनमा उडानकै क्रममा बारम्बार समस्या आउने गरेको छ । इन्डिगोको नियो श्रेणीको विमानमा यस्तो समस्या विगत दुई वर्षमा २२ पटक भइसकेको बताइएको छ । 

भारतको नागरिक उड्डयन प्राधिकरणले इन्डिगो विमानका एयरबस ३२० (नियो) श्रेणीका सबै विमानको पुराना प्राट एन्ड ह्विटनी इन्जिन परिवर्तन गर्न समयसीमा तोकेको छ । आगामी ३१ मे सम्ममा त्यस्ता विमानको इन्जिन परिवर्तन गरिसक्नु पर्ने छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *