८ करोड बढी अवैध सम्पत्ति आर्जन गर्ने कर्मचारी विरुद्द भ्रष्टाचार मुद्दा

माघ १६, काठमाडौं । मालपोत कार्यालय चाबहिलका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र वस्नेत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनी विरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ विगो कायम गरी आरोप पत्र दायर गरिएको छ ।
बस्नेतले पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेकोले कारवाही गरी पाउँ भनी आयोगमा दर्ता भएको उजुरी का आधारमा अनुसन्धान भएको थियो । अनुसन्धानमा उनले २०४५ कात्तिक १९ गतेदेखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगीका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।
null
उनले ३० वर्षको अवधीमा कमाएको सम्पत्ति तथा पैतृक सम्पत्तिसमेतको अनुसन्धानमा रु ७४लाख ७३ हजार ३ सय ७३ मात्र वैध आय आर्जन देखिएको छ ।
गतवर्षदेखि नै उनी माथि विशेष अदालतमा मुद्दा दायर गरी अनुन्धान थालिएको थियो । अनुसन्धानको क्रममा २०७५ असोज २५ मा पक्राउ परेका निजबाट स्रोत नखुलेको रु ११ लाख समेत बरामद भएको थियो ।
आयोगका अनुसार उनले आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत नातापर्ने व्यक्तिसमेतका नाममा दर्ता कायम रहने गरी विभिन्न शीर्षकहरुमा लगानी गरेको पाइएको छ ।
अख्तियारका अनुसार बस्नेतले आफू तथा श्रीमती सीता बस्नेतको नाममा ६ करोड ७४ लाख २५ हजार १ सय ४५ को घर तथा जग्गा खरिदमा खििरद गरेको छ । आमा टुकु कुमारी बस्नेतको नाममा रहेको जग्गामा उनले ६२ लाख ९० हजार ५ सय ४८ को घर निर्माण गरेको देखाएको छ ।
यस्तै, सापटी चुक्ता प्रयोजनमा रु. ३९ लाख ७६ हजार २ सय ९०, बीमा शुल्कमा रु. ५ लाख ७० हजार ४ सय ९०, सवारी साधन खरिदमा रु. ३७ लाख ३१ हजार, अंशबापत नगद भुक्तानीमा रु. १५ लाख, पुँजीगत लाभकरमा रु. ३ लाख ४७ हजार चालीस, छोरा छोरीको शैक्षिक खर्चमा रु. १७ लाख ८६ हजार ३ सय २५ रुपैयाँ लगानी गरेको देखाएको छ । शेयर खरिदमा रु १८ हजार लगानी गरेको खुलेको छ ।
उनी पक्राउ पर्दा निजको साथमा स्रोत नखुलेको ११ लाख फेला परेको छ । श्रीमती सीता बस्नेतको बैंक खाताबाट अन्य व्यक्तिको बैंक खातामा १ करोड लगानी गरेको फेला परेको छ । उनी स्वयम् एवं निजका परिवारका सदस्यको नाममा संचालित विभिन्न बैंक खाताहरुमा जाँचअवधिमा देखिएको अन्तिम मौज्दात रु. ५ लाख ८७ हजार १ सय ४८ समेत गरी अनुसन्धानमा लिइएको जाँचअवधिमा ९ करोड ७३ लाख ३१ हजार ९ सय ८६ खर्च तथा लगानी गरेको देखिएको छ ।
निजको वैध आय रु. ७४ ७३ हजार ३ सय ७३ को तुलनामा रु ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको अख्तियारको दावी छ ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ख अनुसार राजेन्द्र बस्नेत, श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।








