‘सेतु’ कुकुरको हत्यामा संलग्न गाउँपालिकाका उपाध्यक्षद्वारा क्षमा याचना


पुस २६, काठमाडौं । काठमाडौं तीनकुने सुविधानगरस्थित् हेवन रेस्टुरेन्ट भएको भवनको पार्किङमा विगत दुई वर्षदेखि बस्दै आएको ‘सेतु’ नाम गरेको कुकुरको हत्यामा संलग्न दोलखा बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले आज क्षमा याचना गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो तर्फबाट क्षमा याचना गरेका हुन् । सेतु कुकुरको हत्या हुँदा आफू सहभागी भएपनि मिडियामा आएजस्तो रड प्रहार गरेर आफूले कुकुरको हत्या भने नगरेको स्पष्ट पारे ।
गत मंसिर २१ गते सेतु कुकुरको हत्या भएको थियो । काठमाडौं शान्तिनगर बस्दै आएका सञ्जीव ओली र उनकी पत्नी प्रीती शेर्पासहित सात जनाको समूहले उक्त सेतु कुकुरको हत्या गरेको भन्दै पशु अधिकारसम्बन्धी विभिन्न दश संघ–संस्थाहरुले हत्यामा संलग्नहरुलाई तत्काल कारबाहीको माग गरेका थिए ।
सोहीअनुसार उपाध्यक्ष ओलीले आजको पत्रकार सम्मेलनमार्फत् क्षमा मागे हुन् । आफूले पनि घरमा कुकुर पालेको सुनाउँदै ओलीले आफूबाट आवेशमा गल्ती भएको स्वीकार गरे ।
‘मेरो छोरालाई सेतु कुकुरले टोकेपछि म अनियन्त्रित भएको थिएँ । मेरो छोरालाई टोकेपछि थाहा भयो कि त्यो कुकरले पछिल्लो समय कम्तिमा ३९ जनालाई टोकिसकेको रहेछ,’ सेतु कुकुरको हत्या हुनुपुर्वको घटना स्मरण गर्दै ओलीले भने, रेबिजको डरले मेरो अरु बच्चालाई पनि यसले फेरि टोक्छ भन्ने डरले मैले सेतु कुकरलाई हिर्काउनमात्र खोजेको थिएँ । तर, दुर्भाग्यवस त्यो कुकुरको निधन भयो । आज आएर मलाई त्यो गल्तीको महसुस भएको छ ।’
