पोखरा महोत्सवमा यस्ताे छ आठ लाखकाे धरहरा

माघ २, कास्की । धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो ।   

भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ । महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो आकर्षण जस्तै बनेको छ । त्यसैले होला पोखरा महोत्सव हेर्न पुगेका गगनगौंडाका हरिप्रसाद सुवेदीलाई धरहरा देख्दा निकै रमाइलो लाग्यो । 

भूकम्पअघि आफूलाई मन लागेर पनि काठमाडौँमा घरहरा चढ्ने मौका नमिलेको बताउँदै उनले सक्कली नभए पनि पोखरामा चढेर अनुभव लिएको सुनाए । उनले भने, ‘महोत्सवमा धरहरा राखिनुले यहाँ आउने जो कोहीले यसबारे चढेर अनुभव लिन सक्नेछन् ।’ 

 महोत्सवका सहभागीलाई काठमाडौंकै धरहराको झझल्को दिने गरी ४० फिट अग्लो ६ तलाको धरहरा आठ लाखमा एसके साउन्डले निर्माण गरेको हो । धरहराबाट महोत्सवको मञ्च, दर्शक, गतिविधि, अमरसिंह चोक र आसपासको क्षेत्र नियाल्न सकिन्छ । 

बुधबार मात्रै सञ्चालनमा ल्याइएकोले पहिलो दिनमा एक हजार दुई सयले चढेर अनुभव लिएको एसके साउन्डका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए । धरहरा चढ्न दर्शकले प्रति टिकट ६० रुपैयाँ तिर्नुपर्छ भने ७० वर्ष माथिका र सात वर्ष मुनिकालाई  प्रवेश निःशुल्क  गरिएको छ ।   

 पोखराको काँहुमा रहेको सामान्य धरहराबाट पोखरा हिमाल र रमणीय बजारको अवलोकन गर्न सकिन्छ ।  यहाँको उपत्यकाभित्र अन्य ठाउँमा नरहेको र पर्यटकीय नगरीमा एउटा आवश्यक छ है भन्ने सन्देश दिन महोत्सवस्थलमा धरहरा ठड्याइएको गुरुङले बताए । 

 ‘महोत्सवका सहभागीलाई धरहराबारे जानकारी र अनुभव गराउनु मात्र नभइ पर्यटकीय नगरीमा यसको आवश्यकता बोध गराउन सम्बद्ध सबैलाई ध्यानाकर्षण गराउन यो बनाइएको हो,’ उनले भने । युनाइटेड क्लबले अमरसिंह चौरमा गर्दै आएको महोत्सवमा प्रत्येक वर्ष नयाँ–नयाँ किसिमका गतिविधि समेटिएको क्लबका पूर्व अध्यक्ष एवं अतिथि व्यवस्थापन समितिका संयोजक हिमालय बख्रेलले बताए । 

प्रत्येक वर्ष थपिने नयाँ गतिविधि अन्तर्गत यसवर्ष सञ्चालित दशौं संस्करणमा धरहरा चढ्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । महोत्सवकै अवसरमा प्रत्येक वर्ष कहिले बसमा निःशुल्क चिडियाखानाको अवलोकन, कहिले हात्ती तथा कहिले उँट सवार गर्ने व्यवस्था मिलाइएको छ । 

 महोत्सवका माध्यमबाट क्लबले सामाजिक काममा अग्रसरता देखाउँदै अघि बढेको बताउँदै क्लबका अध्यक्ष लालकाजी गुरुङले वर्षेनी महोत्सवमा दर्शकलाई फरक–फरक शैलीबाट मनोरञ्जन प्रदान गर्दै आएको बताए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *