‘मेला महोत्सवको आयोजना उद्योग वाणिज्य महासंघले मात्र गर्न पाउनुपर्छ’

पौष ०५, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने बताएका छन् ।
आइएमई ग्रुपका अध्यक्षसमेत रहेका चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने बताएका हुन् ।
स्याङ्जामा शुक्रबार आयोजित गण्डकी प्रदेशस्तरीय स्याङ्जा महोत्सवको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दैै भने ‘स्थानीय उत्पादन, सीप र कलालाई प्रवद्र्धन गरी बजारसम्म पु¥याउने यो काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघ संस्थाहरुले नै गर्ने हो अरुले होइन ।’
उनले अबदेखि यस्ता मेला महोत्सवहरुको आयोजना गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुलाई मात्र दिनुपर्ने प्रावधानका लागि सम्बन्धित सबै प्रदेश सरकारहरु र संघीय सरकारसमक्ष नेपाल उद्योग वाणिज्य महासंघ र आफ्नो व्यक्तिगत तर्फबाट पहल गर्ने बताए ।








