सिटौलाको प्रश्न: डाक्टर उत्पादन गर्न एक करोड खर्च गर्ने राज्यले चालक उत्पादनमा लगानी किन गर्दैन ?

पुस २, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सडक दुर्घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चासोले आफूहरु खुशी भएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा महासचिव सिटौलाले यस्तो बताएका हुन् ।
‘पहिलो पटक प्रधानमन्त्रीले यातायातको क्षेत्रमा ध्यान दिनुभयो । यो खुशीको कुरा हो । तर

विभागीय मन्त्रालयको प्राथमिकीकरणमा यातायात परेको छैन । त्यही भएर दुर्घटना बढेको छ,’, उनले भने ।
उनले देशभरि ८४ हजार सडक रहेको आँकडाबारे जानकारी गराउँदै उनले भने, ‘१४ हजार र ८४ हजारको बीचका सडकहरु बिना ईन्जिनियर बनाइएका छन् । सडकहरु अवैज्ञानिक छन् ।’
सिटौलाले सडक दुर्घटना न्यूनीकरणका लागि सबै निकाय जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘त्यसमा पनि सरकारको भूमिका मुख्य हुन्छ । ऊ जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । अहिले नेपालको यातायात क्षेत्रमा १० खर्बको लगानी छ । यो लगानी बचाउने जिम्मेवारी सरकारको हो ।’
उनले चिकित्सक उत्पादन गर्न राज्यले एकजनालाई एक करोडसम्म लगानी गरेको तर चालक उत्पादन गर्नको लागि खोई लगानी ? भनेर प्रश्नसमेत तेर्साए । उनले भने, ‘एउटा चिकित्सले गल्ती गर्दा एक जनाको ज्यान जान्छ । तर, एउटा चालकले गल्ती गर्दा ४०–५० जनाको ज्यान जान्छ ।’
अहिलेसम्म चालक उत्पादन गर्न सरकारले लगानी नगरेकोमा उनले गुनासो पोखे । उनले आफूहरु ठूलो पीडामा रहेको पनि दुःखेसो पोखे । उनले भने, ‘काठमाडौंका कोरिडोर सडकहरु किन बनेका छैनन्, यी कोरिडोरका सडक बन्दा काठमाडौंमा जाम कम हुन्छ ।’
प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्र नक्कली भएकाहरुलाई नविकरण गर्न नदिने भनेर दिएको निर्देशन पनि जायज रहेको उनको भनाइ छ ।
उनले स्मार्ट लाईसेन्सको नाममा ट्रायल पास भएकाहरुले तत्काल लाईसेन्स दिनुपर्ने बताए ।
उनले भने, ‘सडक दुर्घटनामा प्रहरीको कुनै दोष छैन् । सरकारले वैज्ञानिक गाडी आयातको नीति बनाउनुपर्छ । बाटो र सडकको अवस्था हेरेर गाडी आयातको नीति लिनुपर्छ । कुन सडकमा कस्तो खालका सवारी चलाउनुपर्छ भनेर पनि ध्यान दिनुपर्छ ।’
सवारी चेकजाँच काठमाडौंमा मात्रै नभएर ७७ वटै जिल्लामा गरिनुपर्ने उनको माग छ ।








