दि भ्वाइस अफ नेपाल सिजन २ः पुरा हाेला त गीत गाएर परिवार पाल्ने रामको सपना ?

मंसिर १९, काठमाडौं । ‘दी भ्वाइस अफ नेपाल’ को सिजन २ मा उपाधिका दाबेदार मानिएका प्रतिस्पर्धी हुन् झापाका राम लिम्बु ।   

जज नै निशब्द हुने उनको प्रस्तुति निकै रुचाइएको छ । अहिले सम्मको उनको प्रस्तुतिमा खोट लगाउने ठाउँ देख्दैनन् उनका प्रशंसक तथा शुभचिन्तकहरु । जब उनी स्टेजमा चढेर गाउन सुरु गर्छन्, एकाएक माहोल तात्छ । हुटिङ चल्छ । उनकै गीतको तालमा झुम्मिन्छन् संगीतप्रेमीहरु ।   

आफूसँग दर्शक नचाउने क्षमता भएका रामको संघर्षको कथा पनि नमिठाे छैन । सानै उमेरदेखि दुःख झेलेका उनले कहिले फर्निचरमा मिस्त्री काम गरे त कहिले ठेलामा मःम बेचे । तर छोडेनन् आफूभित्र गुञ्जिएको संगीत मोहलाई । यहाँसम्म आइपुग्न भाइ लक्ष्मणको साथ छ भन्छन् राम ।  

‘बरु म गर्छु काम तँ गीत गा राम’ भनेपछि उनमा अझै जोश बढ्यो र ‘दि भ्वाईस अफ नेपाल’ सम्म आइपुगे । यहाँसम्मकाे सफलताकाे क्रेडिट भाइकाे नाममा छ ।  

विदेशीने सोच बनाएका राम दी भ्वाईसमा छनौट नभएको भए आज कुनै खाडी मुलुकमा काम गर्दै हुन्थे सायद । उनिभित्रको प्रतिभा त्यसै मर्थ्यो । भाइले मलजल गरिदिए र त हुर्कियो उनको प्रतिभा । 

रामकी आमाको पनि आँखा रसाउँछन् छोरोको प्रगति देख्दा । खुशीले गद्गद् छिन् उनी । आमा भन्छिन्, ‘छोरोले त आमालाई जिन्दगीकै खुशी दियो, हिजो गाली गरेको दिन सम्झिँदा रुन मन लाग्छ ।’ 

छरछिमेक रामको काम देखेर खुशी छन् । आमाबुवालाई बधाईको ओईरो छ । कोठाभित्र गाईरहने राम कसरी त्यहाँ पुगे, सबै अचम्ममा छन् । 

राम भन्छन्, ‘म यहाँ पुग्नुमा मेरो भाईको हात छ, किनकी राम लक्ष्मणविना अधुरो छ । भाईले मेरो प्रतिभा चिन्यो । मलाई सहयोग गर्यो ।’ 

हिजोसम्म जजको हातमा भएको रामको सपना आज दर्शकको हातमा छ । भोटरको हातमा छ ।   

शनिबार हुन लागको ग्राण्ड फिनालेमा राम लिम्बुसहित ४ प्रतिस्पर्धी छन्, आरिफ रौफ, विकास लिम्बु र सनिस श्रेष्ठ ।   

सबैलाई उपाधिको दाबेदारका रुपमा लिन्छन् जज । सबै प्रतिस्पर्धीले आफूलाई भोट दिन आह्वान गरिरहेका छन् । यसमा राम पनि पर्छन् । ‘संगीत मेरो जिन्दगी हो । यहाँसम्म आउन सहयोग गर्ने सबैमा धन्यवाद छ । प्लिज अन्तिम पटक भोट गरिदिनुस्’, रामले भने ।   

गीत संगीतमै नाम र दाम कमाएर घर परिवार पाल्ने अठोट लिएका रामको सपना पुरा होला त ? को बन्ला ‘दि भ्वाइस अफ नेपाल २’ को विजेता ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *