सन्दीप सम्मिलित मेलबर्नको लगातार दोस्रो जित

पुष ६, काठमाडौं । लगातार उत्कृष्ट बलिङपछि सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिकेन्सलाई ५२ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजय लक्ष्य पछ्याएको होबर्ट हुरिक्यान्सले १६ ओभरमा सबै विकेटको क्षतिमा एक सय ११ रन बनायो ।
ह्यारिस रौफले पाँच विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाको नाममा दुई दुई विकेट रह्यो। सन्दीपले एक विकेट हात पारे। एक सय ६४ रनको लक्ष्य पछ्याएको होबर्ट १६ ओभरमा एक सय ११ रनमा सिमित भयो।

होबर्टले पहिलो विकेटका लागि ३० रनको साझेदारी गरेको थियो। कप्तान म्याक्सवेलले डीआर्की सर्टलाई आउट गरेपछि होबर्टको पतन सुरु भएको थियो। सन्दीपले अर्का ओपनर कालेब जेवेललाई व्यक्तिगत २४ रनमा पवेलियन फर्काए।
म्याक्वेलले अर्का खतरनाक ब्याट्सम्यान डेभिड मिलरलाई पनि आउट गरे। व्यक्तिगत पहिलो ओभरमै विकेट लिएका रौफले ११ औँ ओभरमा तीन विकेट हात पारेका थिए। रौफले आफ्नो चौथो ओभरमा पनि विकेट हात पारे।
रौफले चार ओभरमा २७ रन खर्चिए। सन्दीपले सुरुका दुई ओभरमा पाँच रनमात्र दिएपनि तेस्रो ओभरमा १३ रन खर्चिएका थिए। उनले तीन ओभरमा १८ रन दिए। यसअघि पहिला ब्याटिङ गरेको मेलबर्नका लागि मार्कस स्टोइनिसले ५४ बलमा ८१ रन बनाएका थिए।








