‘भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने प्रधामन्त्रीको भनाई जग हँसाई भएको छ’

७ पुस, काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा गोकर्ण रिसोर्ट र नारायणहिटी अगाडि रहेको ट्रष्टको जग्गाको विषयमा आवाज उठेको छ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नेपालको ट्रष्टको सम्पत्ति हिनामिनामा प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नता छ भन्ने धारणा विकसित हुँदै गएको बताएका छन् ।   

उनले गोकर्ण रिसोर्ट भएको जग्गा भाडामा दिने सम्झौता ६ वर्ष बाँकी रहँदा नै म्याद थप्नु तथा दबारमार्गमा रहेको जग्गा कौडीको भाउमा एउटा व्यापारिक समूहलाई दिँदा नीतिगत भ्रष्टाचार भएको दाबी गरेका छन् ।   

सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद अधिकारीले नेपाल ट्रष्टसम्बन्धी संशोधन विधेयक नै बदनियतका साथ ल्याएको सम्झिए । उनले भ्रष्टाचार म गर्दिन, गर्न पनि दिन्न भन्ने प्रधामन्त्रीको भनाई आज जग हँसाई भएको उल्लेख गरेका छन् ।   

नारायणहिटी राजदरबारको विदेशी सत्कार कक्षमा रेष्टुँरा खोल्न व्यवसायिक प्रतिष्ठानलाई दिलाउन कसरत भइरहेको भन्दै उनले भने, ‘किन रेष्टुँरा मात्र खोल्ने ? सिंगै नारायणहिटी दरबारलाई आलिसान होटलमा परिणत गर्न लिजमा दिए भइहाल्यो नि ’, उनले आक्रोस पोखे ।   

त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सरकारसँग माग गरेका छन् । 

उनले राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले आलोचना र विवादबाहिर आइसकेपछि स्पष्ट पार्नु सरकारको कर्तव्य हुन्छ । त्यसैले सरकारको तर्फबाट यो विषयमा सदनलाई जानकारी गराइनु पर्छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =