‘नेपाल इन्जिनियरिङ कलेज अब नयाँ ट्रयाकमा आएको छ’

मंसिर २६, काठमाडौँ ।  नेपाल इन्जिनियरिङ कलेजलाई सरकारले चाँगुनारायण नगरपालिका र पोखरा विश्वविद्यालय अन्र्तगत सञ्चालन गर्न बाटो खोलिदिएपछि संस्थापक, स्थानीयबासी, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुले स्वागत गरेका छन् ।   

बुधबार चाँगुनारायण–४ स्थित कलेजमा कलेजका संस्थापक अध्यक्ष स्वर्गिय दीपक भट्टराईको ४५ औं पुन्यतिथिमा आयोजित विशेष कार्यक्रममा बोल्दै वक्ताहरुले शिक्षा मन्त्रालयले सामाजिक कलेजलाई निजीकरण गरी शिक्षालाई माफियाकरण गर्नेहरुको बाटो बन्द गरिदिएको बताएका छन् ।   

शिक्षा मन्त्रालयले स्थानीय सरकार मातहतमा कलेज सञ्चालनको तदर्थ समिति गठन गरिदिएर गरिब तथा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहज रुपमा इन्जिनियरिङ शिक्षा हासिल गर्न सहयोग समेत पुर्याएकोप्रति कृतज्ञता ब्यक्त गरे । 

कार्यक्रममा बोल्दै संघीय सरकार भक्तपुर २ का सांसद महेश बस्नेतले नेपाल इन्जिनियरिङ कलेजलाई स्वर्गिय दीपक भट्टराईले सामाजिक कलेजका रुपमा दर्ता गरिदिएर सर्वसाधारणका छोराछोरीलाई सहज रुपमा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने बाटो बनाइदिएको बताउँदै अब उनले विजारोपण गरेको संस्था जोगाउन सबै लागि पर्नुपर्ने बताए ।   

उनले स्व.दीपक भट्टराई शिक्षा क्षेत्रको अथक साधक, जीवनको अन्तिम घडीसम्म कलेज बचाउन संघर्षशील ब्यक्तित्व भएको चर्चा गर्दै कुनैपनि उद्देश्य पूरा गर्न आफ्नो प्राण रहुन्जेल संघर्ष र मेहनत गर्नुपर्छ भन्ने ज्ञान स्व.भट्टराईबाट सिक्न सकिने बताए ।   

‘स्वर्गीय दीपक भट्टराई एक मेहनती, इमान्दार र संघर्षशिल ब्यक्ती हुनुहुन्थ्यो, आफनो घर परिवार भन्दा पनि कलेज र शिक्षा क्षेत्रमा आफ्नो जीवन अर्पण गर्ने उहाँलाई सच्चा श्रद्धाञ्जली दिने हो भने, कलेजको विकासमा सबै लागि पर्नुपर्छ, विगतमा गलत गरेकाले सच्चिएर अगाडी आउँछन् भने हामी खुल्ला ह्दयले स्वागत पनि गर्छौं ।’ पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भने । 

कलेज सञ्चालक मध्येका लम्बोदर न्यौपानेप्रति लक्षित गर्दै सांसद बस्नेतले शिक्षा जस्तो पवित्र क्षेत्रमा ब्यापारीकरण गर्नेलाई सरकारको यो निर्णयले ठूलो धक्का लागेको उनले बताए । ‘नेपाल इन्जिनियरिङ कलेज सरकारको यो निर्णयपछि नयाँ ट्रयाकमा आएको छ, अब यसको विकास र संरक्षणमा हामी सबै लाग्नुपर्छ ।’ उनले भने ।   

सांसद बस्नेतले कलेजले भक्तपुर क्षेत्रको शैक्षिक विकासमा ठूलो टेवा दिइरहेको बताउँदै आगामी दिनमा कलेजलाई चाहिने सबै प्रकारको सहयोग गर्न आफु प्रतिबद्ध रहेको समेत बताए ।   

कार्यक्रममा बोल्दै प्राध्यापक डा.सुरेशराज शर्माले स्वर्गिय प्रा.डा.दीपक भट्टराई एक संघर्षशिल, कर्तब्यनिष्ट, इमान्दार शैक्षिक साधक रहेको बताए । स्व.भट्टराईले नेपालको इन्जिनियरिङ क्षेत्रमा ठूलो योगदान पुर्याएको बताउँदै उनको योगदानलाई चीर स्थायी बनाउने हो भने नेपाल इन्जिनियरिङ कलेजलाई बचाउनु पर्ने र उनका विचार र आदर्शलाई अनुशरण गर्नुपर्ने बताए । 

‘उहाँसँग मेरो धेरै राम्रो सम्बन्ध थियो, यो कलेज शिलान्यास गर्दा म आएको थिँए, उहाँले जुन उद्देश्य प्राप्तिका लागि कलेज खोल्नुभयो त्यसलाई दिगो बनाउनका लागि अबका सञ्चालक र सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ डा. शर्माले भने ।   

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत रहेका डा.शर्माले स्व.दीपक भट्टराईको जीवनमा ‘म गर्न सक्दिन, यो हुन सक्दैन’ भन्ने शब्दै नरहेको र उनी कडा परिश्रम गरेर बाँच्ने ब्यक्तित्व रहेको चर्चा गरे ।   

स्वर्गिय दीपक भट्टराईको ४५ औं पुन्य स्मृतिको अवसर पारेर उनीद्वारा लिखित आत्मकथा ‘सकिन्छ गर्न यहि मुलुकमा गर्नुपर्छ’ नामक पुस्तक विमोचन, दीपक स्मृति भवन नामाकरण, शालिक शिलान्यास तथा दीपक मार्ग’ नामाकरण कार्यक्रममा बोल्दै नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजीका पूर्व प्रिन्सिपल प्रा.डा.राजेन्द्रप्रसाद अधिकारीले स्व.दीपक भट्टराईले नेपालको इन्जिनियरिङ शिक्षामा महत्वपूर्ण योगदान रहेको बताए । 

स्व.भट्टराईद्वारा लिखित पुस्तक माथि टिप्पणी गर्दै अधिकारीले स्व. भट्टराई ‘हुन्छ र सकिन्छ’ जस्ता गतिशिल शब्दका पर्यायवाची समेत रहेको बताए । उनले नेपाल इन्जिनियरिङ कलेज स्थापना गर्न स्व.भट्टराईले ठूलो त्याग, संघर्ष र बलिदानी दिएको स्मरण गरे । ‘उहाँ इन्जिनियरिङ क्षेत्रमा अथक साधक हुनुहुन्थ्यो, आफ्नो घरपरिवार केहि नभनी श्रीमतिको गहना समेत बेचेर यो कलेज स्थापना गर्नुभएको हो ।’ उनले भने ।   

कार्यक्रममा बोल्दै कलेज संस्थापक सञ्चालक मध्येका पूर्वमन्त्री हरि पाण्डेले कलेज आफुहरुको छोरी जस्तै रहेको र अब हुर्किएकी छोरीलाई सरकार र स्थानीयको हातमा सुम्पिएको चर्चा गर्दै कलेजलाई अबका दिनमा कसरी अगाडी लैजाने चुनौति रहेको बताए ।   

उनले स्वर्गिय दीपक भट्टराईले कलेज स्थापना गर्दा नै यो सामाजिक संस्था हुन्छ, यसबाट हामीहरुले कुनैपनि नाफा लिँदैनौं भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता गरेको स्मरण गर्दै भने,  ‘मैले उहाँ जस्तो ब्यक्तित्व देखेको छैन, उहाँले मेडिकल शिक्षा र इन्जिनियरिङ शिक्षामा ठूलो योगदान दिनुभएको छ ।’   

पाण्डेले सरकारले हिजो गरिदिएको निर्णयले कलेज निजीकरण गरी करोडौं कमाउने दाउ गरेकाहरुको बाटो बन्द भएको बताए । ‘यो कलेज सामाजिक संस्था हो यसमा दुई मत छैन, दीपक भट्टराईले जीवन पर्यन्त लम्बोदर न्यौपाने पक्षको सड्यन्त्रका विरुद्ध, सत्यको लागि लड्नु भयो, अब उहाँको सपनालाई साकार पार्ने जिम्मा सरकारले लिएको छ, हामी सञ्चालकहरु अत्यन्त खुसी छौं ।’ पाण्डेले भने ।   

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले कलेजलाई निजीकरण गर्नेहरुका विरुद्ध आफुहरु जस्तोसुकै संघर्ष गर्न र राज्यसँग लविङ गर्न तयार रहेको बताए । उनले सरकारले कलेजको विवादलाई अल्पकालिन रुपमा एउटा निकास दिएको जिकिर गर्दै भोली सम्मानीत सर्वोच्च अदालतबाट आउने निर्णय सबैलाई मान्य हुने समेत बताए ।   

साथै उनले भक्तपुर जिल्लालाई शैक्षिक हब बनाउन कलेजले महत्वपूर्ण योगदान दिने चर्चा गर्दै स्व.दीपक भट्टराईको भिजन र योगदानको चर्चा गरे ।  कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन लगायत कलेजका पूर्वविद्यार्थीहरुले समेत कलेज र स्वर्गिय भट्टराईका बारेमा चर्चा गरेका थिए ।   

कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथिहरुले कलेज परिसरमा रहेको दीपक स्मृति भवनको नामाकरण गरेका थिए भने, प्रमुख अतिथि सांसद महेश बस्नेत तथा स्वर्गिय दीपक भट्टराईकी श्रीमती इल्या भट्टराईले शालीक अनावरण गरेका थिए । सोहि कार्यक्रममा दीपक मार्गको नामाकरण समेत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *