‘द लिडर’को सफलताको शुभकामना डा. सा’प !

आजकल नेपाली टेलिभिजनमा रियालिटी शोको बहारनै चलेको छ । त्यस्ता शोहरुमा आफ्नो क्षेत्रबाट चर्चा कम पाउन थालेपछि ‘जज’ बन्न जानेहरुको लर्काे पनि लामै छ । यो एउटा आफुलाई सबै माझ छु भनेर देखाइ राख्ने सजिलो माध्यम पनि हो । राजनीतिमा प्रधानमन्त्रीको कुर्सी समेत संहालिसकेका पूर्वप्रधानमन्त्री समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराई पनि एउटा रियालिटी शो को ‘जज’ बन्न गइरहेका छन् । डा. भट्टराई जसलाई पहिलो संविधानसभा तुहाएको भन्दै नेपाली राजनीतिमा धेरैले असफल प्रधानमन्त्री भनेर धेरैले भन्दछन्, उनी नै सहि लिडर खोज्नका लागि ‘जज’ बन्न लागेपछि डा. भट्टराईको चर्चा भन्दा आलोचना गर्नेहरुको संख्या बढेको छ ।   

टेलिभिजनका पर्दामा आउन छाडेपछि पुनः टिभीमा आउने एउटा हतकण्डा अपनाएका छन् ‘जज’ बाबुराम भट्टराईले । हिजोसम्म राजनीतिक भाषणले टेलिभिजनका पर्दामा छाउने बाबुरामको आजकल कतै चाँईचुई छैन । त्यसैको रन्कामा उनी नेता उत्पादन गर्ने कार्यक्रम ‘द लिडर’ को निर्णायक हुन लागेका हुन् । सामाजिक सञ्जालमा डा. भट्टराई हास्य पात्र बन्दैछन् । 

१० वर्षे जनयुद्ध शुरु गर्दा डा. भट्टराईको जुन ओज र आकर्षण थियो, माओवादीबाट बाहिरिएर नयाँ शक्ति र समाजवादीमा आइपुग्दा शुन्यमा झर्यो । एनेकपाका केन्द्रीय उपाध्यक्ष र प्रधानमन्त्रीसम्म बन्दा उनको राम्रै हैसियत थियो । तर, ३ वर्ष यता उनलाई कसैले गन्दैनन् । सामाजिक सञ्जाल ट्वीटरमा दिनदिनै छाउने उनी, अहिले खासै छाउँदैनन् । आफ्नालाई लत्याएको अभिषाप लागे जस्तो, माओवादी पार्टी छाडेपछि डा. भट्टराईको गती उधो लागेको छ ।   

आफैंले जन्माएको सन्तान छोड्न त साह्रै गाह्रो पो हुन्छ त ! तैपनि माओवादी पार्टी छाडे । 

फेरि जन्माएका अर्का सन्तान यानेकी नयाँशक्ति नेपाल पार्टीबाट खासै फलिफाप भएन । त्यसको झोँकमा ठूलो पार्टी बनाउन उपेन्द्र यादवको समाजवादी पार्टीमा समाहित डा. बाबुरामलाई उपेन्द्र यादवसँगको मित्रता पनि फापेको छैन । त्यसको प्रत्यक्ष असर मंसिर १४ मा भएको उपनिर्वाचनमा देखियो । समाजवादीले कतै उम्मेदवार नै उठाउन सकेन भने, कतै जमानतनै जफत भयो ।   

मौलाउने एउटा समय आउँदो रहेछ !   

जब डा.बाबुराम भट्टराई २०६५ सालमा अर्थमन्त्री भए । सबैभन्दा बढि कर संलकन गरेर स्याबासी पाए । अर्थक्षेत्रमा केहि सुधारका काम पनि गरेपछि २०६८ सालमा नेपालका ३५ औं प्रधानमन्त्री पनि भए । जनयुद्धको रापतापमा संविधान सभाको निर्वाचनमा होमिँदा उनले आफ्ना प्रतिद्वन्द्वीलाई ४० हजार मतान्तरले पराजित गरेका थिए ।   

धेरै जनताले डा. भट्टराईबाट आशा गरेका थिए तर,१० वर्षसम्मको भूमिगत जीवन र २०६२-२०६३ को जनआन्दोलनपछिको निर्वाचनबाट हलक्क हाईट बढाएका उनले त्यसलाई एक दशक पनि टिकाउन सकेनन् ।   

उनी भित्र ठूलो बैचारिक अन्र्तद्वन्द्व भयो । यहाँ सम्मकी उनले आफैंले शुरु गरेको जनयुद्धबाट प्राप्त ऐतिहासिक उपलब्धीलाई जोगाउन सकेनन् । फलस्वरुप प्रचण्डसँगको बैचारिक द्वन्द्वबाट बाहिरिएर तीन वर्ष अघि फेरि नयाँशक्ति नेपाल नामक पार्टी खोले । दोस्रो संविधानसभामा डा. भट्टराईको नयाँ शक्तिले हावा खायो । नयाँ शक्तिबाट डा. भट्टराईले कुनै उपलब्धि हाँसिल गर्न सकेनन् । त्यसपछि  उपेन्द्र यादवको समाजवादी पार्टीमा विलय भए तर, त्यहाँ पनि उपेन्द्र यादवको छत्रछाँयामा बस्नुपरेको छ । भर्खरै सम्पन्न उपनिर्वाचनमा समाजवादीकै जमानत जफत भएपछि डा. भट्टराईलाई ‘चोक्टा खान गकी बुढी … कुनी के जस्तो’ भएको छ ।   

त्यसैको फ्रस्टेसनमा छन् कि क्या हो आजकल बाबुराम जी ‘जज’ नेता उत्पादन गर्ने कार्यक्रममा ‘जज’ बन्ने हुटहुटीमा छन् ।   

‘जज’ भनिरहँदा कुनै अदालतमा जागिरे भएछन् कि भन्ने पनि लाग्ला कतिलाई, तर जानकारी गराई हालौं उनी अहिले सञ्चारकर्मि रबी लामिछानेले प्रस्तुत गर्न लागेको नयाँ रियालिटी शो ‘द लिडर’ को जज हुन लागेका हुन् ।   

हुन त यो धर्ती एउटा रङ्गमञ्च हो र हामी सबै यसका पात्र मात्र हौं । आ–आफ्ना चरित्र त निभाउनै पर्छ त्यसमा कहिले राजनीतिज्ञ हुनुपर्छ त कहिले कलाकार त कहिले निर्णायक । 

त्यै परिभाषालाई पुरा गर्दै छन् इन्जिनियर साप ! 

यहाँ फेरि इन्जिनियर साप भन्दा कसलाई भन्ने कुरा आउन सक्छ ? यो पद पनि उनै डा. बाबुराम भट्टराईकै हो । उनी एक ब्रिलियन्ट छात्र पनि हुन् । जमानाको उनी एसएलसीका बोर्ड टपरनै हुन् । उबेलाको पढाई अहिले जस्तो सजिलो कहाँ हुँदो हो र ? अहिले घर पिच्छे स्कुल कलेज खुलेका छन्, तर उबेला कति कोश हिँडेर पढ्न धाउनु पथ्र्यो । ती बेलाका बाबुराम भट्टराई एसएलसी टपर हुन् ।   

त्यति मात्रै कहाँ होर, उनले ‘द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल’ विषयमा विद्यावारिधि गरेका छन् । उनी एक डिजाइनर हुन् । उनले रामेछापको मन्थली र दाङको लमही बजारको डिजाइन गरेका हुन् । उनको क्षमता जति सहर डिजाइन गर्नमा छ त्यतिनै पार्टी डिजाइन गर्नमा पनि देखिन्छ ।   

उनलाई कहाँ फुटाउनु पर्छ र कहाँ जुटाउनु पर्छ त्यसको धेरै ज्ञान छ । तर, पार्टी फुटाउनु र जुटाउनु कहाँ सजिलो रहेछ र । घर बनाउन सफल डा. सा’प पार्टी र देश बनाउन सधैं असफल भए ।   

उनको इन्जिनियरिङ राजनीतिमा भने काम लागेको छैन ।   

तमाम आरोपका बाबजुद डा.भट्टराई समकालिन नेपाली राजनीतिकर्मिहरुका माझ क्षमतावान नेताका रुपमा भने गनिन्छन् ।   

अब्बल पढाई, दृढ चाहाना र उनले अर्थमन्त्री हुँदा देखाएका संकेतका कारण उनीबाट धेरै जनता अझैपनि आशावादी छन् । तर, जनताका आकांक्षालाई सत्ता र शक्तिमा रहँदा उनले कहिल्लै पुरा गर्न सकेनन् । 

के अब उनको खस्किएको राजनैतिक साख आउन लागेको ‘द लिडर’ले उकास्ला त ?त्यो भने कार्यक्रम सुरु भएपछि हामी सबै थाहा पाउनेनै छौं ।   

राजनीतिमा असफल डा. सा’पलाई ‘द लिडर’को सफलताको शुभकामना मात्रै ! 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =