जनकपुरधाममा गुठी जग्गा अतिक्रमण खोजी तीव्र, २५ बिघासम्म जग्गा मिचिएको अनुमान

जनकपुरधाम । गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको छ ।

भूमि अतिक्रमणमा सङ्घीय सरकारको चासो बढेपछि संस्थानले जग्गाको लगत सङ्कलन र अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया प्रारम्भ गरेको हो ।

गुठी संस्थानले मठमन्दिर र पोखरी अतिक्रमण गरी भौतिक संरचना बनाएर बसेकाहरुलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ ।

गुठी जग्गाको मालिक सम्बन्धित गुठी वा गुठी संस्थान हो, र गुठी जग्गालाई रैतानी गर्ने प्रक्रिया संविधानसँग बाझिएको भन्दै अदालतले विसं २०६४ माघ १० गतेको फैसलाबाट रोक लगाएको छ ।

गुठी जग्गा कमाउनेले स्वतः मोहियानी हक नपाउने सर्वोच्च अदालतको फैसलामा उल्लेख छ ।

संस्थानका प्रशासन प्रमुख ध्रुव घिमिरेको संयोजकत्वमा गठित कार्यदलले जनकपुरधामस्थित गुठी र गुठी संस्थानका जग्गा सात दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ ।

जनकपुरधाममा गुठी संस्थानका ४९ वटा पोखरी छन् । सात वटा पोखरीको लगत सङ्कलन कार्य अन्तिम चरणमा पुगेको छ भने पाँच वटा पोखरी लोप भइसकेको गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाले जानकारी दिए ।

पोखरी पुरेर बस्ती, होटल, अस्पताल, व्यापारिक प्रतिष्ठान र कलेज निर्माण गरिएको उनले बताए । गुठी संस्थानसँग जग्गाको अद्यावधिक अभिलेख नरहेकाले अतिक्रमणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।

जनकपुरधाममा गुठी संस्थानका करिब २२ देखि २५ विघा जग्गा अतिक्रमणमा परेको हुन सक्ने अनुमान गरिएको छ । प्रमुख झाका अनुसार रत्न सागरमा करिब नौ बिघा र बेलाकुट्टीमा करिब चार बिघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + sixteen =