‘सीमा त मात्रिका र वीपीले बेचेर खाए, अब पर्खाल लगाउनुपर्छ’

कार्तिक २३, काठमाडौं । नेपाल–भारतबीचको सीमा विवाद फेरि बल्झिएको छ । भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो सीमाभित्र समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाली जनताको रगत एकपटक पुनः भारतका विरुद्ध उम्लिएको छ ।   

तीन वर्ष अघिको अघोषित भारतीय नाकाबन्दीको विरुद्धमा सडकमा उभिएका नागरिक अहिले स्वतस्फुर्त सडकमा ‘गो ब्याक इण्डिया’ को नारा लगाउँदैछन् । 

देशका विभिन्न भागमा दिनहुँ जस्तो प्रदर्शन भइरहेका छन् । ‘कालापानी, लिपुलेक नेपालको हो, गो ब्याक इण्डिया’ का नारा लागिरहेका छन् । नेपालको जमिन फिर्ता ल्याउन तत्काल अन्तर्राष्ट्रिय मुद्दाका रुपमा उठाएर भारतमाथि एक्सन लिनुपर्ने बेला सरकारले सामान्य ध्यानाकर्षणको विज्ञप्ति निकालेपछि आक्रोशित छन् नेपाली जनता ।   

नाकाबन्दी पछि भारतसँग यसै पनि रुष्ट थिए नेपाली । अहिले वीर पुर्खाहरुले आफ्ना रक्तधारा बगाएर संरक्षण गरेको सीमा भारतले मिच्दा भारतप्रति आक्रामक देखिएका छन् । युवादेखि वृद्धवृद्धा सम्म सीमाको विषयलाई लिएर चिन्तित बनेका छन् ।   

रेल र पानी जहाजको सपनालाई अल्पविराम लगाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको सीमानाको रक्षा गर्नुपर्ने बताउँछन् अन्तिम ग्रहण । नेपाली वीरहरुको रगतले सृजित नेपाली भूमि भारतले आफ्नो भन्दै सीमा मिच्नुदा सरकार मुक दर्शक हुँदा सरकारप्रति जनताको धारणा राम्रो नजाने उनको भनाइ छ ।   

‘अहिले रेल र पानी जहाज भन्दा पनि सीमा सुरक्षाको काम अघि बढाउनु पर्छ सरकारले । सीमानामा पर्खाल लगाएर चन्द्र सूर्य ध्वजा फहराउनु पर्छ’, अन्तिमले भने ।   

त्यस्तै हाल काठमाडौंमा बस्दै आएका अनुराग शाह पनि सीमा सुरक्षामा सरकारले तत्काल कामकारवाही अघि बढाउनुपर्ने बताउँछन् । उनले भने, ‘सरकारले भारतीय राजदुतमार्फत् यसबारे जानकारी गराएर तत्काल सार्वजनिक भएको भारतीय नक्साबाट हाम्रो कालापानी र लिपुलेकलाई हटाउन कुटनीतिक पहल गर्नुपर्छ । र यसबारे भारतको धारणा आउनुपर्छ ।’ 

 यदि नेपाल सरकारले यसमा बेवास्ता गरेमा सरकारविरुद्ध २०६२–६३ को आन्दोलनमा जस्तै गरी जनता उठ्नुको विकल्प नरहेको उनको भनाइ छ ।   

थानकोटका ४२ वर्षीय निरज श्रेष्ठको पनि धारणा उस्तै छ । नेपालको सहमतीविना भारतले यति ठुलो कदम चाल्न नसक्ने दाबी गर्दै श्रेष्ठले नेपालका राजनीतिज्ञहरुको मिलेमतोमा सीमा अतिक्रमण भएको दाबी गरे ।   

‘कसैको घरभित्र पस्न त केही नाता राख्नुपर्छ भने सीमा जस्तो कुरा यतिकै कहाँ हडप्न सक्छ ? नेपालका राजनीतिज्ञहरुको मिलेमतो भएर न भारतलाई सीमा मिच्न सहज भएको हो । यो जसरी नि फिर्ता आउनै पर्छ’ उनले भने ।   

उमेरले ६६ कटेकी मसीनी थापाले गाउँमा भएको जायजेथा बेचेर काठमाडौंमा जग्गा किनेकी थिइन् । अहिले बाटोले जग्गा सबै खाइदियो । आफ्नो जग्गाको चिन्ता एकातिर छ नै, अर्कोतिर थपियो आफ्नो देशको सीमा अतिक्रमणको पीर ।   

उनका श्रीमान् काम गर्न सक्दैनन् । उनी पनि अपांग छिन्, एउटा हात छैन । बिहान खाए बेलुकी के खाउँको अवस्थामा उनी छाक भन्दा बढी देशको बारेमा सोच्छिन् । उनलाई आफ्नो देशको सीमा कसैले अतिक्रमण नगरिदिए हुन्थ्यो जस्तो लाग्छ ।   

उनी भन्छिन्–‘आफ्नो देशको माया कसलाई लाग्दैन र ? नेपाल नलगिदिए हुन्थ्यो जस्तो लाग्छ । सरकारले आफ्नो जति सीमा फिर्ता लिन पहल गर्नुपर्छ । पर्खाल लगाउनुपर्छ ।’ 

उनलाई अहिलेको सरकारसँग भन्दा पनि यसभन्दा अघिका सरकारसँग धेरै गुनासा छन् सीमाका विषयमा । ‘सीमा त मात्रिका, वीपीले बेचेर खाए । अहिलेको सरकारले सीमा बेचेर खान सक्दैन । हुन त अहिलेको सरकारले हामीलाई के नै गरिदिएको छ र ? नाकाबन्दीमा भारतलाई झुकायो यो सरकारले, त्यत्तिमात्र हो’ उनी सुनाउँछिन् ।   

सिक्किम ग्यान्टुका ३३ वर्षीय तिम्बु चौहानलाई भने भारतले नेपालको सीमा मिचेको कुरा पत्याउनै मुश्किल पर्यो । उनी नेपाल घुम्न आएका कारण भारतले भर्खरै सार्वजनिक गरेको नक्साबारे अनविज्ञ रहेछन् । उनी अहिले जहाँ (सिक्किम) बस्छन्, त्यो पहिले नेपालको भु–भाग थियो भन्दा उनी छक्क परे ।   

‘सिक्किम त भारतको हो । हामीलाई थाहै छैन सिक्किम नेपालमा थियो भनेर । हामीले तिब्बतको भन्ने सोचेका थियौँ । भारत सरकारले सुरक्षालाई लिएर त्यस्तो गरेको हुन सक्छ । सीमा अतिक्रमण हल्ला मात्रै होला । भारतले यस्तो गर्न सक्दैन’, उनले भने ।   

उनी भन्छन्– ‘नेपाल भारत मित्र राष्ट्र हो । सीमा मिचिएकै हो भने नेपाल र भारत सरकारले मिलेर यो समस्याको समाधान निकाल्नुपर्छ । कति भारतीय नेपालमा छन्, कति नेपाली भारतमा छन् । हामी मिलेर बस्नुपर्छ । सीमा मिच्ने काम गर्नुहुँदैन ।’ 

सिराहा कर्जन्हा नगरपालिका वडा नम्बर ७ का ४८ वर्षीय नथुनि यादव भने भारतप्रति रुष्ट सुनिन्छन् । भारतलाई जति ठुलो भएपनि सन्तोष नमिलेको उनी बताउँछन् । राणाहरुको शासनका बेलामा नै अंग्रेजसँग वार्ता गर्दा मिलेमतोमा सीमा बेच्ने काम भएको सुनेको उनले बताए । ‘हाम्रो देश भारतको ठुलो मार्केट हो । भारतले यस्तो गर्न मिल्दैन । नेपालले अन्तर्राष्ट्रिय स्तरमा यो मुद्दा उठाउनु पर्यो । डराएर छोड्नु भएन’, यादवले भने ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *