जोमसोममा टाटा मोटर्सको वर्कशप

मंसिर ७, जोमसोम । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीलाई सेवा प्रदान गर्न वर्कशप स्थापना गरेको छ ।
समुन्द्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले गरेका हुन् ।
समुद्घाटन समारोहमा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा टाटा मोटर्स तथा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रतिनिधिहरूका साथै सो क्षेत्रका स्थानीय बासिन्दा र टाटा मोटर्सका ग्राहकहरूको पनि सहभागिता थियो ।
यस वर्कसपले जोमसोम क्षेत्रमा टाटा मोटर्सका सबै रेन्जका गाडीहरूलाई सेवा प्रदान गर्ने छ । उद्घाटन कार्यक्रमका अवसरमा बोल्दै टाटा मोर्टसको कमर्सियल बिजनेस, कस्टमर केयर इन्टरनेशनल प्रमुख गणेश शेट्टीले ग्राहकले टाटाका कुनै उत्पादन खरिद गरेपछि उसले टाटाका सेवाहरूमाथि अधिकार प्राप्त गर्ने भएकाले र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको भएको बताए ।
सिप्रदी ट्रेडिङ प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिक्रीपश्चातको सेवा दिने कुरामा सिप्रदी सदैव प्रतिबद्ध र सिप्रदीको स्थापनादेखि नै सिप्रदीले सेवालाई उच्च प्राथमिकतामा राख्दै देशका कुनाकाप्चामा भएका ग्राहकहरूसम्म पुग्ने लक्ष्य लिएको बताए ।
टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.प्रति आभार व्यक्त गर्दै घोरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले सिप्रदी र टाटा मोटर्सले जोमसोममा वर्कशप खोल्नु भनेको यो स्थानको महत्व बुझेको बताए l








