दीपक भट्टराईको निधनले हौसियो लम्वोदर न्यौपानेको टीम, नेकका कर्मचारीलाई चेतावनी

कात्तिक २१, काठमाडौं । गैरनाफामुलक सामाजिक संस्थाको रुपमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष प्रा.डा. दिपक भट्टराईको निधनपछि कलेजलाई प्राइभेट बनाएर करोडौं कमाउने दाउ गरेकाहरुको चलखेल झन बढेको छ ।   

कलेजको अनियमितता ढाकछोप गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस दिएको भन्दै भ्रष्टाचार काण्डमा मुछिई हाल धरौटीमा रिहा भएका कलेजका पूर्वअध्यक्ष लम्वोदर न्यौपाने कलेज हडप्न पुनः हौसिएका छन् ।   

फौजदारी अभियोग लागेमा कलेज सञ्चालक समितिको सदस्यबाट स्वतः निस्कासित हुने नेपाल इन्जिनियरिङ कलेजको विधान बमोजिम विधिवत रुपमा कलेजबाट निस्कासित भइसकेका लम्वोदर न्यौपानेको हाल कलेजमा कुनै वैधानिक हैसियत छैन । तरपनि उनी ‘नेपालको कानूनलाई पैसाले किन्न सक्छु’ भनी कलेज हत्याउने प्रपञ्च रच्दै हिँडिरहेका छन् । यस्तोमा कलेजलाई सामाजिक संस्थाकै रुपमा चलाउनु पर्छ र जनताका छोराछोरीलाई सर्वसुलभ रुपमा इन्जिनियरिङ शिक्षा दिनुपर्छ भन्ने सोच राखेका दीपक भट्टराईको निधन भएपछि लम्बोदर न्यौपाने पक्षधरमा खुसीयाली छाएको छ ।   

गत कात्तिक ११ गते दीपक भट्टराईको निधन भएपनि लम्बोदर न्यौपानेले नेपाल इन्जिनियरिङ कलेजको लेटर–प्याड र छापको अनाधिकृत प्रयोग गरी आफूलाई कलेजको अध्यक्ष भनी घोषणा गर्दै हिँडिरहेका छन् । साथै उनले कलेजको नाममा अनाधिकृत फेसवुक एकाउन्ट खोली कलेज र कलेज सञ्चालकहरू विरुद्ध नियमित मिथ्या प्रचार गरिरहेका छन् । उनले कलेजको नाममा फेसवुक एकाउन्ट खोली त्यहाँ कलेज सञ्चालक र कर्मचारीका विरुद्ध अनेक स्टाटस पोस्ट समेत गर्ने गरेका छन् । 

नेकका कर्मचारीलाई लम्बोदर न्यौपानेको उर्दी 

दीपक भट्टराईको निधनसँगै लम्बोदर न्यौपानेले अहिले कलेजमा कार्यरत कर्मचारीलाई उर्दी जारी गरेका छन् । लम्बोदरले कलेजकै लेटरप्याड प्रयोग गर्दै लेखा शाखामा कार्यरत कर्मचारीलाई कुनैपनि आर्थिक कारोबार नगर्न निर्देशन दिँदै यदी कसैले गरिहालेमा स्वयं जिम्मेवार हुनुपर्ने र त्यस्ताबाट असुल उपर गरिने समेत बताएका छन् । कात्तिक १७ गते जारी सुचनामा गैरकानुनी कार्य गरेको अभियोगमा निश्काशित कर्मचारीले कुनै सुविधा नपाउने कलेजको विधानमा स्पष्ट ब्यवस्था भए बमोजिम कसैले मिटिङको नाममा दिइएको भत्ता या गरिएका खर्च, कानुन ब्यवसायीका नाममा गरिएका खर्च लगायत अबैधानिक समितिले गरेका निर्णय समेत अमान्य हुने भनिएको छ ।   

लम्बोदर न्यौपानेले बाहिरबाट कलेजकै लेटरप्याड प्रयोग गरी जिम्मेवार कर्मचारीलाई निर्देशन दिँदा कर्मचारीमा तनाब उत्पन्न भएको एक कर्मचारीले भने । ‘हामीलाई प्रष्ट थाहा छ उहाँले जे गरिरहनु भएको छ त्यो गलत छ, सामाजिक संस्थालाई निजीकरण गरेर हज्जारौं विद्यार्थीहरुको भविष्य विगार्ने काम भइरहँदा टुलुटुलु हेर्न सकिन्न । सरकारले जतिसक्दो चाँडो फैसला गरोस ।’ एक कर्मचारी भन्छन् । लम्बोदर न्यौपानेले कलेजका प्राध्यापक तथा कर्मचारीलाई समेत ‘दीपक भट्टराई गइसक्यो अब मैले जे भन्छु त्यहि मान नत्र ठिक हुँदैन ।’ भन्दै धम्कीको भाषा प्रयोग गरेको कलेजका एक कर्मचारीले भने ।   

 सबै नेपालीको साझा सम्पत्तिको रुपमा रहेको नेपाल इन्जिनियरिङ कलेजलाई २०७४/१/२५ गते लम्वोदर न्यौपानेले आफ्नो एक्लैको स्वामित्व भएको दावी गरी गोप्य रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘नेपाल इन्जिनियरिङ कलेज प्रा.लि’ को नाममा दर्ता गरेको जानकारी प्राप्त भएपछि दिपक भट्टराईले उक्त कार्यको सशक्त विरोध गरेपछि दिपक भट्टराई र लम्वोदर न्यौपाने बीचको सम्वन्ध विग्रिएको थियो ।   

स्वामित्व विवाद बढ्दै गएपछि लम्वोदर न्यौपानेले आफु सहित कलेज सञ्चालक समितिका ११ जना मध्ये ५ सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई आफ्नो पक्षमा पार्न सफल भएपनि दिपक भट्टराई नेतृत्वको पक्षमा ६ जना सदस्य भएपछि न्यौपानेको कलेज हडप्ने सपना साकार हुन सकेन । ०७४ सालमा दिपक भट्टराईले तत्कालिन कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले गरेको अनियमितताका विरुद्ध १४ सरकारी निकायमा छानविन र अनुसन्धानका लागि उजुरी दिएका थिए ।   

न्यौपानेले मध्य–पश्चिमाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिई कलेज बेच्ने सपना पनि तुहिन लागेको देखेपछि उक्त छानविनलाई प्रभावमा पार्न अख्तियारका पूर्व–आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैंया घुस दिएको भिडिओ बाहिर आयो । त्यसपछि अख्तियारले लम्वोदर विरुद्ध विशेष अदालतमा मुद्दा हालेकोमा ७८ लाख रुपैंया धरौटी राखी हाल लम्वोदर पुनः कलेज हत्याउने सड्यन्त्रमा हिँडेका छन् । 

उच्च अदालत पाटनलाई प्रभावमा पारी लम्वोदरको नीजि कम्पनीले कलेज हातमा पार्न झन्डै सफल भएपनि सर्वोच्च अदालतको निषेध–आदेश (स्टे–अर्डर) पछि अहिले लम्वोदरको कलेज बेच्ने सपना निस्कृय अवस्थामा छ ।   

‘कलेजलाई गैरनाफामुलक सामाजिक संस्थाकै रुपमा सञ्चालन गर्नुपर्ने अडानमा रहेका दिपक भट्टराईलाई क्यान्सरले च्यापेपछि तीन वर्षदेखि कलेजमाथि गिद्दे दृष्टि लगाएर बसेका लम्वोदर खुसिहुनु स्वाभाविक भएपनि हामी रहुन्जेल यो कलेज सामाजिक संस्थाकै रुपमा चल्नुपर्छ । त्यसका लागि हामी जस्तो सुकै संघर्ष गर्न तयार छौं ।’ गत १८ गते कलेजले दीपक भट्टराईको संझनामा गरेको श्रद्धाञ्जली सभामा वक्ताहरुले बताए ।   

गएको कात्तिक ११ गते दीपक भट्टराईको निधनपछि लम्वोदर पुनः हौसिएका छन् । कलेज सञ्चालन हुन नसकी बन्द भएमा कलेज बेच्ने अभिष्ट पुरा गर्न सजिलो हुने  लम्वोदर न्यौपानेलाई थाहा छ । उनले कलेजको दैनिक सञ्चालनमा अवरोध हाल्न कात्तिक १७ गते न्यौपानेले कलेजका केही कर्मचारीहरूलाई मानसिक तनाव दिन उनीहरूको व्यक्तिगत इमेलमा धम्कीपूर्ण पत्रहरू पठाएका छन् ।   

उक्त पत्र पश्चात लम्वोदरका दुष्प्रयास विरुद्ध कलेजका शिक्षक–कर्मचारी‚ विद्यार्थी र स्थानीयवासीहरू कलेजको गैरनाफामुखी सामाजिक स्वरुप बचाउन थप संगठित भएका छन् । १८ गतेको श्रद्धाञ्जली कार्यक्रममा प्रदेश ३ का सांसद मणिराम फुँयाल, भक्तपुर जिसस प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिका उपप्रमुख वीणा बास्तोला, चाँगुनारायण नगरपालिका वडा नं १ देखि ४ सम्मका सवै वडाध्यक्षहरू समेतले नेपाल इन्जिनियरिङ कलेजलाई गैरनाफामुखी सामाजिक स्वरुप कायम राख्ने प्रतिवद्धता जाहेर गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *