बराह क्षेत्रका कृष्णदाश महाराज माथि बलात्कारको आरोप

मंसिर १३, काठमाडौं । बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो । सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीमाथि बलात्कारको आरोप छ । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको पीडितको भनाइ छ । पीडितले प्रहरीमा जाहेरीसमेत दिइसकेकी छिन् । तर, प्रहरीले जाहेरी दर्ता गरेर आरोपीलाई पक्राउ नगर्दा पीडितमाथि उजुरी फिर्ता लिन दबाब बढेको छ ।   

आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीले अझै जाहेरी दर्ता गरेको छैन । सिद्धबाबाकै प्रभावमा परेर प्रहरीले जाहेरी दर्ता नगरेको पीडितको भनाइ छ ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले घटनाको अनुसन्धान भइरहेको बताए । ‘काठमाडौंबाट त्यससम्बन्धी बुधबार जाहेरी आएको छ,’ एसपी पोखरेलले भने, ‘घटना भएको हो/होइन, हामी अनुसन्धानकै क्रममा छौँ ।’   

सिद्धबाबासँग प्रहरीले सोधपुछ समेत गरेन 

Related image

बुधबार नै त्यससम्बन्धी जाहेरी आए पनि प्रहरीले न जाहेरी दर्ता गरेको छ न त आरोपीलाई पक्राउ गरेर अनुसन्धानमै चासो दिएको छ । जसका कारण आरोपीले पीडितमाथि प्रभाव तथा दबाब दिने अवस्था सिर्जना भएको छ । स्रोतका अनुसार बिहीबार बेलुकासम्म प्रहरीले सिद्धबाबामाथि सोधपुछसमेत गरेको छैन । उनी आश्रममै छन् ।   

स्रोतका अनुसार पीडित महिला केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् । सुनसरीको घटना भन्दै काठमाडौं प्रहरीले उजुरी नलिएपछि उनीहरू केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गएका थिए । सिआइबीले पीडित महिलाको स्वास्थ्य परीक्षण गरेर जाहेरी सुनसरी पठाएको हो । मंगलबार नै सिआइबीले सुनसरीमा जाहेरी पठाए पनि सुनसरी प्रहरीले अनुसन्धानमा चासो नदिएको हो । सिआइबीले घटनाको अनुसन्धान गरी त्यसबारे जानकारी दिनसमेत सुनसरी प्रहरीलाई निर्देशन दिएको थियो । सिद्धबाबा यसअघि पोखरामा नौ दिनसम्म समाधि बसेको भनेर चर्चामा आएका थिए । उनीमाथि दुईवटा नागरिकतालगायतका विवादका विषयमा प्रशासनमा उजुरी छन् । 

सुध्रिएन प्रहरीको कार्यशैली   

महिलासम्बन्धी अपराधका घटनामा लापरबाहीका कारण प्रहरी पटक–पटक बदनाम भइसकेको छ । तर, पनि प्रहरी कार्यशैली सुध्रिएको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गर्दा प्रहरीले विश्वास गुमायो । सुरुमा हराएकी निर्मलालाई खोज्न प्रहरीले चासो दिएन भने पछि शव भेटिएपछि प्रमाणको सुरक्षामा लापरबाही भएको थियो ।   

त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा समेत प्रहरीले सुरुमा घटना लुकाउन खोजेको थियो । बलात्कार प्रयास भयो भनेर महिलाले उजुरी गर्दा घटनास्थल पुगेको प्रहरी मुचुल्का नै नगरी फर्किएको थियो । पछि दबाब सिर्जना भएपछि भोलिपल्ट दिउँसो मात्र प्रहरी मुचुल्काका लागि घटनास्थल पुगेको थियो । जसकारण महराको मुद्दामा फिंगर प्रिन्टलगायत प्रमाण प्रहरीले संकलन गर्न सकेन । अझै पनि सकेसम्म कतिपय घटना लुकाउने खोज्ने प्रवृत्ति सुनसरी घटनाले समेत देखाएको छ । 

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *