बोक्सीको आरोपमा कुटपिट गर्नेलाई कार्बाही गर्न गृहमन्त्रीको आदेश कुर्नपर्छ भने किन चाहियो संघीयता र प्रदेश सरकार ?

अनलाइनमा एउटा खबर पढें  । ‘बोक्सीको आरोपमा किशोरी माथि कुटपिट, त्यो अत्याचारलाई जिउँदो लास बनेर त्यहाँ जम्मा भएका मानव भीडले मौन स्वीकृति दिइरहे ।’ 

चटक्कै मुटु चुँडिने खबर । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर । किशोरीको ५ मिनेटको भिडियो ४ पटक दोहोर्याएर हेरें हुँला । जति पटक हेर्यो त्यति पटक झनझन मेरा आँखाका खोँचहरू आँसुले भरिएर आयो । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्यो । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै भयो । 

एउटी किशोरी जो आफू निर्दोष भएको र आफूलाई यातना नदिन सबैसामु हात जोडेर याचना गरिरहेकी छ, समाज चूँ सम्म नबोली साक्षी बसिरहेको छ । अन्धविश्वासले मान्छेहरू कति अन्धो हुँदो रहेछ । अनि कति अपराध गर्दा रहेछन् ? 

ज्ञान र विज्ञानको युग अर्थात २१ औं शताब्दी । चन्द्रमामा मान्छेले पाइला टेकेको त धेरै भइसक्यो । वैज्ञानिकहरू पृथ्वी असुरक्षित भयो भन्दै सुरक्षित वासस्थानको लागि अर्कै ग्रहमा बसाईं सर्ने विकल्पको खोजी गर्दैछन् । उफ ! मेरो देशमा भने बोक्सीको आरोपमा मान्छे कुटेर मारिदै छ ।   

छाउपडीको नाममा छोरी–चेलीको ज्यान जाँदैछ । दाइजोका नाममा दिनदहाडै बुहारीहरूमाथि मट्टीतेल खन्याएर आगो लगाइदै छ । मानवाधिकारकर्मीहरू कुर्लिएको कुर्लिएकै छन्, सरकार कानुन बनाएको बनाएकै छ । तर, समाजमा मानवता बिरोधी हिंस्रक घटनाहरू घटेको घटेकै छन् । 

हाम्रो देशको कानुन कार्यान्वयन गर्ने र नियमन गर्ने निकाय यति कमजोर छ कि अपराधीहरू सजिलै छुट्न सक्छन् । यस्ता घटनाहरू बारम्बार दोहोरिँदै आएका छन् । अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्बाही होस् । म यसै लेखमार्फत सरकारलाई खबरदारी गर्न चाहन्छु । 

बोक्सी, धामी झाँक्री केवल अन्धविश्वास सिवाय केही होइन । बर्गीय हिसाबले पीँधमा परेकाहरू, लैंगिक हिसाबले महिलाहरू, जातीय हिसाबले दलितहरू, शिक्षा र चेतनाको हिसाबले अशिक्षित र अचेतनहरू सबभन्दा बढी बोक्सा–बोक्सीको आरोपबाट प्रताडित छन् । 

धनी परिवारको महिला बोक्सीको आरोपमा लान्छित र प्रताडित भएको मलाई आजसम्म थाहा छैन । महिलाहरू अझ त्यसमा पनि एकल महिलाहरूको तुलनामा पुरूषहरू अपवादमा मात्रै लान्छित र प्रताडित हुने गरेको छ । त्यस्तै जातीय हिसाबले दलितहरूले जति बोक्सा–बोक्सीको आरोपमा सास्ती खेपिरहेका छन्, त्यसको १ प्रतिशत पनि अरू जातिले खेप्नु परेको छैन । 

शक्ति राष्ट्रहरू संसारमा आफ्नो साम्राज्य कायम गर्न कमजोर राष्ट्रहरूमाथि बम बर्साइरहेका छन् । विज्ञान र प्रविधिको प्रयोग मानवजातिको हितमाभन्दा नरसंहारकारी युद्धमा लगाइरहेका छन् । संसार तमासे बनेर हेरिरहेको छ । शक्ति राष्ट्रका शासकहरूको आफ्नो राष्ट्रलाई ‘महान’ बनाउने होड बढ्दै जाँदा कतै तेस्रो विश्वयुद्ध त हुने होइन ? सम्झदा पनि कहाली लागेर आउँछ । 

यता आफ्नो देश दस बर्षे गृहयुद्धबाट बल्लतल्ल तंग्रिदैँ छ । जनतामा शान्ति र समृद्धिको आशा जागेको छ । त्यसैको लागि २०७४ को निर्वाचनबाट जनताले झण्डै दुई तिहाईको जनमत वाम गठबन्धनलाई दिएको छ । जनताका समस्या, आवश्यकता र आकांक्षाहरू धेरै छन् । तर, ती असंभव भने पक्कै छैन । मात्र नेताहरूमा दूरदृष्टि, इच्छाशक्ति र इमान्दारिताको खाँचो छ । 

समाजमा दलित र गरिबहरूलाई हेप्ने संस्कार त छँदैछ । दलित र गरिब हुनु के अपराध हो ? यो समाजमा दलित र गरिबलाई बाँच्ने अधिकार छैन ? यदी अधिकार छ भने किन दलित र गरिबहरू मात्रै बोक्सा–बोक्सीको आरोपमा मारिन्छन् ? सरकार ! कहाँ छौ तिमी ? दलित र गरिब यो देशका नागरिक होइनन् ? उनीहरूको सुरक्षा गर्नु तिम्रो कर्तब्य होइन ? 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *