प्रधानमन्त्री ओली खतरामुक्त: अझै एक साता अस्पतालमै

मंसिर १३, काठमाडौं। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य खतरामुक्त रहेको जानकारी दिइएको छ ।
शुक्रबार अस्पताल परिसरमा पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकहरुले प्रम ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । उहाँलाई एक हप्तामा डिस्चार्ज गरिन्छ । १० दिनमा उहाँ अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्नुहुनेछ’, निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिइन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अपेक्षा गरेभन्दा राम्रो सुधार भइरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको छ ।
एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस भइसकेको छ । पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ । यसबारे अन्तिम निर्णय लिनुपूर्व छलफल भइरहेका बेला एपेन्डिसाइटिसको अपरेशन गर्नुपरेको शाहले बताइन् ।
डा. शाहका अनुसार एपेन्डिसाइटिसको उपचार अपेक्षाअनुसार सफल भयो र घाउहरु पुरियो भने छिट्टै पुनः मिर्गौला प्रत्यारोपणमा जान सकिन्छ । अप्रेसनले मिर्गौला प्रत्यारोपणमा कुनै असर गर्दैन ।
मंसिर १० गते बिहान पेट दुखेर अस्पताल लगिएका प्रधानमन्त्री ओलीको विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य परीक्षण पश्चात एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए ।








