चितवनको सौराहामा विश्व रेन्जर सम्मेलन सुरु


कार्तिक २६, चितवन । चितवनको सौराहामा मंगलवार देखि विश्व रेन्जर सम्मेलन सुरु भएको छ । पाँच दिन सम्म चल्ने सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा रेन्जर सम्मेलन सुरु भएको हो । एशियामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ ।
यस अघिको आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलन तयारी समितिका संयोजक डा महेश्वर ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव बन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्या पर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्दै छ । त्यसैगरी प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका बिषयमा आ–आफ्ना प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा बन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानवद्वन्द्व न्यूनीकरणका बिषयमा विज्ञहरुले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए ।
बन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरुको संघ संस्था आईआरएफ हो । सम्मेलनमा रेन्जरको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरुले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाको योगदान, समुदायस्तरमा उनीहरुले पुर्याएको योगदान, आगामी दिनमा उनीहरुको सुरक्षाबारे छलफल हुने जनाइएको छ ।
पर्यटन वर्ष २०२० को सङ्घारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रर्वधनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । विश्वमानै बन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ ।
यहाँका एक सिङ्गे गैँडा, पाटेवाघलगायतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । सम्मेलन उद्घाटन कार्यक्रममा कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, आईआरएफका अध्यक्ष सन विलमोर, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, बन तथा बातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, सहसचिव डा महेश्वर ढकाललगायतले सम्मेलनको सफलताको कामना गरेका थिए ।
