त्रि.अ.विका ११ अध्यागमन अधिकृतसहित १३ जनाविरूद्ध २४ लाखको भ्रष्टाचार मुद्दा

कार्तिक ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ११ अध्यागमन अधिकृतसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन अधिकृतहरू कमल प्रसाद पराजुली, मनहरी बराल, दिनेश के.एम., तोरण पराजुली, चक्र बहादुर श्रेष्ठ, मनोज कुमार पोखरेल, बिजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदम प्रसाद बजगाईँ¸ जगदिश चन्द्र नेपाली र कम्प्युटर अपरेटरहरु रोशन गौतम र भोज प्रकाश न्यौपानेविरुद्ध २४ लाख ८० हजार विगो मागदाबी सहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।   

त्रि.अ.वि. अध्यागमन कार्यालयले विचौलियाहरुसँग गैरकानूनी आर्थिक लाभ लिएर मिलेमतोमा कतार तथा दुबई मुलुकका भिजिट भिसामा प्रस्थान अनुमति प्रदान गरेको अनुसन्धानमा खुल्न आएको अख्तियारले जनाएको छ ।   

Image result for त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

गएको साउन १५ गते अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीले ड्यूटीमा रहेकै अवस्थामा डेस्कमा रहेको कम्प्यूटरको नेटवर्क थुतेर बन्द गरी दुई वटा मोबाइल प्रयोग गर्दै शंकास्पद ब्यक्तिहरूलाई बारम्बार सम्पर्क गरी लाईनमा रहेका महिला यात्रीहरूलाई बोलाई करिब २० जनालाई कुनै पनि कागजातहरू रूजु नगरी अध्यागमन प्रस्थान अनुमति दिएको भन्‍ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।   

अनुसन्धानमा संकलित प्रमाण तथा तथ्यहरुले आरोपि पराजुलीले प्रयोग गर्ने मोबाइल सम्पर्क नम्बरहरुको आधारमा प्राप्त हुन आएका कल रेकर्डस् एवं खुल्न आएका तथ्यहरु उपर अध्ययन गर्दा निज कमल प्रसाद पराजुली र सोही कार्यालयमा कार्यरत अन्य अध्यागमन अधिकृतहरु बिच मेसेज आदानप्रदान समेत गरी २४८ जना व्यक्तिहरुलाई प्रस्थान अनुमति दिने काममा मिलेमतो भए गरेको पाइएपछि कारवाही अगाडी बढाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

उनका अनुसार ११ अध्यागमन अधिकृत र २ जना कम्प्युट र अपरेटरहरु मिलेर प्रतिव्यक्ति १० हजार लिई गैरकानूनी लाभ लिएर १ सय ९९ जना र साउन १५ गते पराजुलीले IMMI SYSTEM मा अभिलेख नराखि ४९ जना गरी कुल २ सय ४८ जनालाई गैरकानूनी रुपमा विदेश पठाइएको पाइएको छ । प्रतिव्यक्ति १० हजारका दरले आएको कुल २४ लाख ८० हजार लाख आफूहरुबीच बाँडेर खाएको पनि अनुसन्धानमा खुल्न आएको छ ।   

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ९ र दफा १२ बमोजिम सजाय हुनेछ । अन्य संलग्न देखिन सक्ने शंकास्पद व्यक्तिहरुमाथि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *