चिकित्सक भन्छन्– रक्ती, फोक्सो, मुटु स्वास्थ्यका लागि घातक

असोज १९, काठमाडौं । घरघरमा महान् चाड बडा दशैंले छोइसकेको छ । दशैंमा प्रायः सबैका घरमा मासुका मिठा परिकारहरु पाक्छन् । यो समयमा लत्ताकपडा, खाद्यान्न किनमेल त हुन्छ नै घरघरमा मासुका लागि खसी, राँगा, बोका, पंक्षी लगायत काट्ने गरिन्छ । दशैं भन्नेबित्तिकै टिका, जमरा र मासु प्राथमिकतामा परिहाल्छ ।   

अरु समयमा भन्दा दशैंमा मासु, कोल्ड ड्रिङ्स, मदिरा तथा जंकफुडहरु अत्याधिक खपत हुन्छ । हामी स्वास्थ्यको ख्याल नै नगरी खाइरहेका हुन्छौँ । जुन खाद्य पदार्थले हामीलाई असर गर्छ त्यो नै बढी प्रयोगमा ल्याइरहेका हुन्छौँ ।  

मासुमा प्रोटिन हुन्छ, शरीर तन्दुरुस्त राख्छ, शरीरमा बल दिन्छ त्यो त सबैलाई थाहा छ । तर यही मासु कतिका लागि भने घातक बन्न सक्छ । बालबच्चाका लागि त बढ्नमा सहयोग पुर्याउँछ मासुको प्रोटीनले तर, दिर्घरोगीहरुको स्वास्थ्यमा यसले गहिरो असर पुर्याउने पोषणविद् केपी लम्साल बताउँछन् ।   

‘मुटुका बिरामी, उच्च रक्तचाप, मधुमेह, युरिकएसिड लगायतका बिरामीहरुले मासु धेरै खानु हुँदैन । यूरिक एसिडको रोगीले रातो मासुः खसी, बोका, राँगाको मासु नखाएकै जाति हुन्छ । यस्तो मासु खाँदा जोर्नीहरु दुख्न थाल्छन्’, उनले भने । खानै नहुने भन्ने पनि हुँदैन । दिर्घरोगीहरुले कम मात्रामा अथवा सेतो मासुः कुखुरा, बंगुर, सुंगुर, माछा लगायत ठिकै मात्रामा खाँदा हुने उनको भनाइ छ ।   

‘दशैं भनेको एउटा संस्कृति हो । संस्कृतिसँगै विभिन्न खानेकुराहरु पनि जोडिएका हुन्छन् । दशैंमा पनि मासु खाने संस्कृति, चलन छ । मासुको असर व्यक्ति, व्यक्तिको स्वास्थ्य अनुसार फरक पर्छ । बच्चाका लागि त्यही मासु पोसिलो हुन्छ भने दिर्घरोगीका लागि विष बनिदिन्छ मासु । त्यसैले आफ्नो स्वास्थ्य हेरेर खानुपर्छ धेरथोर’, पोषणविद् लम्साल बताउँछन् ।   

दशैंका परिकारहरु धेरै चिल्लो, मसलेदार नबनाइ खान तथा मिठाइ कम खान उनको सुझाव छ ।   

मासु स्वच्छ राख्ने तरिका र दुषित मासुको असर   

यो एकदमै महत्वपूर्ण पाटो छ । सुरुमा मासु खानका लागि वध गरिने पशुको पनि स्वास्थ्यको विचार गर्नुपर्ने हुन्छ । आफूले मासु खान, काटमार गर्न लागिएको खसी अथवा पंक्षीको स्वास्थ्य कस्तो छ भन्ने कुरा पनि विचार गर्नुपर्छ  । यदी बिरामी छ, कुनै रोग लागेको छ भने त्यसलाई मासुको रुपमा खानु हुँदैन ।   

त्यस्तै काटमारका लागि खिया लागेको हतियार प्रयोग गर्नुहुँदैन । काटमार गर्ने स्थान, वातावरणको पनि ख्याल गर्नुपर्छ । शहरमा मासु पसलहरुले एकदमै फोहोर ठाउँमा, खोला,  खोल्साको छेउमा काटमार गर्ने गरेको देखिन्छ । जुन चीजलाई झन् बढी सफा सुग्घर गर्नुपर्छ त्यसैलाई फोहोरको थुप्रोमा काटेपछि इन्फेक्सन त हुने नै भयो । यसमा पनि सावधानी अपनाउनु पर्छ ।   

मासुलाई कसरी धेरै दिनसम्म टिकाउने, गन्धमुक्त राख्ने ? 

तापक्रममा राख्दा मासु छिटो बिग्रिन्छ । त्यसैलाई यसलाई तापक्रम मिलाएर राख्नुपर्छ । त्यो पोसिलो भएर नै हो फेरी चाँडै बिग्रने । किनकी हामीलाई जे पोषिलो हुन्छ, ब्याक्टेरियाहरुलाई पनि त्यही नै बढी पोषिलो हुन्छ । त्यसकारण उनीहरुले छिटो बिगार्छन् । त्यहि भएर कम तापक्रममा अथवा फ्रिजमा राख्ने गर्नुपर्छ । फ्रिजमा पनि लामो समय राखिन्न । एक दुई दिनसम्म फ्रिजमा राखेर खान सकिन्छ । त्यसले मासुको पोषणलाई धेरै असर गर्दैन बरु स्वादलाई चाहीँ अलिअलि बिगार्न सक्छ ।   

दशैंमा काटेको मासु तिहारसम्म खाने चलन पनि छ । यसलाई सुकुटी बनाएर, बोसोलाई मजाले पगालेर, उमालेर त्यसमा मासु डुबाएर राख्ने, नुनपानीमा राख्दा पनि लामो समयसम्म टिकाउन सकिन्छ । यो परम्परागत तरिका हो तर, वैज्ञानिक छ ।   

कोल्ड ड्रिङ्स, जंकफुड र मदिराको असर 

दशैंमा बढी प्राथमिकता मासुलाई दिइएको छ तर मासु भन्दा धेरै पेय पदार्थहरु खपत हुने गरेका छन् । विशेषगरी जाँड रक्सी, बियर, कोक, फ्यान्टा, स्प्राइट, मिरिन्डा लगायतका कोल्ड ड्रिङ्सहरुले स्वास्थ्यमा नराम्रो असर पुर्याउँछ । यीनीहरु झन् घातक हुन्छन् ।   

छुनै नहुने भन्ने पनि हुँदैन तर धेरै नखाएकै राम्रो । यसमा चिनीको मात्रा बढी हुने हुनाले सुगर भएकाहरुले त झन् खानै हुँदैन । कोल्ड ड्रिङ्सलाई कार्बोनेशन गरिएको हुनाले त्यसले पेटमा ग्यास छर्ने, एसिडिटी बढाउने, पेट दुख्न थाल्ने जस्ता सामान्य देखि जटिल समस्याहरु पनि निम्त्याउन सक्छ ।   

रक्ती, फोक्सो, मुटु स्वास्थ्यका लागि घातक   

खसी बोका, अथवा राँगा भैँसी जुनसुकै होस्, यीनहरुको भित्रि अंगहरुः फोक्सो, मुटु, आँखा सकेसम्म खानु हुँदैन । अनि अर्को कुरा रगत जसलाई रक्तीको रुपमा खाने चलन हुन्छ, त्यो पनि सकेसम्म खानु हुँदैन ।   

धेरैजसो रोगहरु रगतमै हुने गर्दछन् । यदी रोगी खसी पर्यो भने उसको शरीरको रगत अर्थात् रक्ती खाँदा रोग सर्न सक्छ । हाम्रो स्वास्थ्यको लागि त्यो निकै घातक हुन सक्छ । भित्रि अंगहरुको सेवनबाट रोग सर्ने जोखिम बढी हुन्छ । त्यसकारण यसमा पनि सावधानी अपनाउनु पर्छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *