सामाजिक सञ्जालका ‘गिद्धे’ पुरुष

एकदिन फेसबुकमा एउटा पुरुषको फ्रेण्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरेँ । हत्तपत्त पुरुषको फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्न हिच्किचाउने मैँले उसको रिक्वेस्ट सहर्ष स्वीकारेँ । कारण थियो, बायोमा जर्नालिस्ट । पेसा एउटै । त्यसमाथि फुच्चे । म भन्दा ।   

लगतै उताबाट ‘हाई’ आइहाल्यो । मैँले रिप्लाई दिएँ । कहाँ, के, को ? उसैले सोध्यो । परिचय दिन कन्जुस्याइँ किन गर्नु ! मृत्युपछिको सम्पत्ति भनेकै यही हो क्यारे ! बेलिबिस्तार लगाइदिएँ, फिल्टरमा । उसकाबारे पनि सोधेँ । जति सोधेँ सबै दियो । ‘कहिलेकाहीँ त बोल्नु न है, म आतंककारी त होइन नि’, उसको म्यासेज थियो चौँथो पटक । दायाँबायाँ केही नसोची बोलिहाल्छु नि ‘भाइ’ भनिदिएँ । म कन्फर्म थिएँ, उसको जवाफ नकारात्मक नै आउने वाला छ । किनकी मैँले ‘भाइ’ भनिदिएँ ।   

वास्तवमा फेसबुकमा महिलालाई आफ्ना, आफन्त बाहेक साथीको प्रस्ताव अर्थात् फ्रेण्ड रिक्वेस्ट आउने भनेकै उनैको उमेर समूहका पुरुषहरुको हो । माथिल्लै पोस्टको अथवा चर्चित महिलाको हकमा यस्तो नहुन सक्छ । तर, साधारण महिलाको हकमा हुने भनेको यही नै हो । नचिनेका महिला साथीको रिक्वेस्ट आउनु भनेको त पहाडमा हिउँ परे जत्तिकै । आकल–झुक्कल । अनि विरलै आउँछन् आफूभन्दा साना भाइबहिनीको रिक्वेस्ट ।   

null

बहिनीको आए त सम्बोधनमा धक मानिरहनै परेन । भाइको आयो भने ! दश पटक सोच्नुपर्छ, के भनेर सम्बोधन गरौँ । हुन त वास्तविक अनुहारसँग कमैको मिल्छ फेसबुके अनुहार । युवावस्थामा मुहार हेरेर उमेर छुट्याउनै सक्दैनन् केटाकेटी । र, सबैलाई वयस्क नै देख्छन् । आफ्नो उमेर सरहको । आफूलाई भाइ, दाई नभनिदियोस् भन्ने चाहन्छन् ।   

अनुभव गाढा र भोगाई ज्यादा भएका कारण हत्तपत दाई र भाईको सम्बोधनमा अलि पछि सरिदिन्छु । डर लाग्छ अपशब्द बोल्लान् कि भन्ने । यस्तोमा त्यो भाइको सकारात्मक प्रतिक्रिया आउला भन्नेमा सोचै गएन । म्यासेज रिमुभ गरौँ कि भन्ने पनि लाग्यो ।   

फेसबुकको यो नयाँ फिचर गज्जबको छ ।   

म्यासेज पठायो । चित्त बुझेन रिमुभ गर्यो ।   

उसले पनि नदेख्ने । आनन्द ।   

ब्लकको सेटिङ्ग त पुरानै भइहाल्यो । यसैका कारणले त निर्धक्कले भाइ भनिदिएकी हुँ । छाडा बोले देखा जायगा । ‘ब्लक जिन्दावाद’   

तर त्यो दिन छाडा कुरा, भाइ नभन खालको रिप्लाई आएन । सिधै ‘दिदी’ पो भन्यो । अचम्मै लाग्यो ! 

खुशीले गद्गद् म त । दिनभरीको तनाव बिर्सिगएँ । उत्सवकै माहोल बन्यो । एक दशकसम्म नमिलेको खुशी एकै दिनमा । जीवनभरको फेसबुकको कमाइ भनेकै यही हो मेरा लागि । ‘भाइ’ 

उसँगको म्यासेज अझै छन् मसँग । डिलिट गर्नु परेको छैन । फेसबुकमा बिरलै राख्न पाइन्छ पुरुषको म्यासेज । के सोच्छन्, के लेख्छन् । मनलाग्दी पठाउँछन् । हेर्नै नसकिने । पढ्नै नसकिने । तर ऊ सँगको कुराकानी यति प्रिय छन् कि म दिनहुँ हेर्छु ।   

कस्तो मिठो सम्बोधन । ‘दिदे’   

बोलिरहन्छ ।   

बोलाइरहन्छ ।   

भन्छ– ‘अब हाम्रो सम्बन्ध अजम्बरी होस्, कहिल्यै नटुटोस् है ।’   

आफ्नाबाट टाढा बसेका मान्छेले मात्रै महशुस गर्न सक्छन् यस्ता खुशी । आफन्त छ्यास्छ्यास्ती हुनेलाई कुन्नी के जाति ।   

भाइ त बनाएँ । तर, पुरुष मित्र र दाई अझै बनाउन सकेकी छैन । यो उमेरसम्म आइपुग्दा पनि मेरा साथी निकै कम छन् । पुरुष त साथी नै छैनन् भन्दा पनि फरक नपर्ने ।   

सानामा भाँडाकुटी खेल्ने साथी पुरुष, 

बेस्ट फ्रेण्ड पुरुष ।   

निश्वार्थ मित्रता ।   

स्कूल पढ्दा बेन्च छुट्टै, मन चाहीँ सबैको एउटै, उस्तै, सफा ।   

कहीँ केही स्वार्थ नाइँ,   

कलेज पढ्दा एउटै बेन्चमा बसियो । तर, बढेनन् पुरुष मित्र । 

मनै मिलेन । निश्वार्थता भेटिएन । पुरुष साथीहरुको संख्या माइनसमा झर्यो ।   

कक्षा ११ को नेपाली पाठ्यपुस्तकमा श्यामप्रसाद शर्माको एउटा निबन्ध छ, ‘आईमाई साथी’ । प्रगतिवादी निबन्धकार मानिने लेखक शर्माको उक्त निबन्धमा महिला साथी बनाउँदाका उतार चढाव, समाजको खिसिटिउरी मज्जैले पढियो । पुरुषका महिला साथी नहुनु र महिलाका पुरुष साथी नहुनु तथा महिला र पुरुषबीचको मित्रतामा आउने कठिनाई उनले ‘आईमाई साथी’  निबन्धमा उतारेका छन् ।   

हुन त उनको निबन्ध आत्मपरक हो । आफ्नै अनुभव ज्यादा समेटेका निबन्धमा खोट के लाउनु । जे भोगे, जे देखे त्यही लेखे । उनको भोगाइमा महिलासँग मित्रता गाँस्दा समाज मात्रै तारो बनेछ । सायद, महिलासँगको मित्रताबारे पुरुषका अनुभव भनेकै यस्तै–त्यस्तै होलान् । त्यसैले त उनले समाज र त्यहाँका मानिसहरुका दृष्टिकोण मात्रै खुट्याए । के महिलाको हकमा पनि यस्तै हुन्छ त ? पक्कै नहोला ।   

महिलाका हकमा स्वयम् पुरुष नै बाधक देखिन्छन् मित्रतामा । पुरुषहरु मित्रतामा पनि ‘यौन खोज्छन्’ अनुसन्धानकर्ताहरुको अध्ययनले पनि यसलाई प्रमाणित गरेको छ । एक अनुसन्धानका अनुसार पुरुषहरुले महिलासँग मित्रता गाँस्नुको उद्देश्य भनेकै यौनिक आकर्षण हो । चाहे पुरुष विवाहित किन नहोस् अरु महिलासँगको उसको मित्रताको मुख्य ध्येय यौन चाहना पूर्तिमा लक्षित हुन्छ ।   

महिलाको हकमा भने यस्तो यौनिक स्वार्थ लागु हुँदैन ! उनीहरु पुरुषसँगको सम्बन्धका मामिलामा बढी आदर्शवादी हुन्छन् र जबसम्म सम्बन्धमा समस्या आउँदैन त्यो बेलासम्म उनीहरुले त्यसभन्दा बढी अपेक्षा गरेका हुँदैनन् ।   

मित्रतामा महिलाहरु सेक्सका विषयमा सोच्नसम्म भ्याउँदैनन् । पुरुषको मित्रताको उद्देश्य भनेकै यौन । एउटा बफादार पुरुष साथी महिलाका निम्ति जुनसुकै समयमा पनि स्वार्थी तथा मतलबी व्यक्तिका रुपमा देखा पर्न सक्छ । पुरुष मित्रलाई निर्धक्कसँग विश्वास गर्ने अवस्था छैन । यस्तोमा समाजलाई मात्रै दोष दिन मिल्ला र ?   

सामाजिक सञ्जालमा त झन् गिद्धे पुरुषका ताँती नै । स्वार्थमुक्त कोही नाइँ । जे सुकै साइनो लगाउँ, बाल हुन्न उनीहरुलाई । महिलालाई आउने पहिलो प्रश्न पनि त्यस्तै हुन्छन्, बिहे भयो कि नाइँ, बोइफ्रेण्ड छ कि छैन ? छ भन्ने जवाफ दिए आवश्यक पर्दा, बोलाउँदा पनि बोल्दैनन् । ‘छैन’ जवाफ गयो भने बोलेर अघाउँदैनन् । थाक्दैनन् । बोलेको दुई दिनमै ‘आइ लभ यू’ रे । रिजेक्ट गर्यो, छाडा शब्दको ओइरो । कि त ब्लक । द्वीअर्थी शब्द बोल्ने उत्तिकै हुन्छन् । ब्लक गरौँ नजिकका साथी, नगरौँ अत्याचारी ।   

साथीका त कुरै छोडौँ । ‘दाई’ का चर्तिकला पनि उस्तै । फेसबुकका दाई सम्बोधनमै मात्र सिमित हुन्छन् । व्यवहारिकतामा उही वक्रदृष्टि । दाई जस्तो पवित्र शब्द त्यस्ता पुरुषमा के प्रयोग गर्नु, जसको नजरै गिद्धे छ । मगजै गिद्धे छ । हरकोही महिलालाई आहारा, चाहारा सम्झन्छ । शारीरिक भोक, स्वार्थ परिपूर्तिका लागि ‘बहिनी’ भन्दै लोकाचारी गर्छ ।   

एक किस्सा स्मरण गरिहालेँ  

फेसबुकमा एउटालाई ‘दाई’ सम्बोधन गरेकी थिएँ । देखाभेट नाइँ । उनी विदेशमा रहेछन्, ब्लक गर्ने अन्तिम दिन थाहा पाएँ । कुनै पार्टीमा आबद्ध थिए । बहिनी होइन मायाले ‘बुइनी’ भन्थे । नबोल्दा 

रिसाउँथे । ठुस्किन्थे । घुक्र्याउँथे । कहिलेकाहीँ अर्ति उपदेश पनि दिन्थे । जीवनउपयोगी । आफ्ना ‘दाजै’ जत्तिकै ।   

ती दाईसँग प्राय झगडै मात्र पथ्र्यो । उनको फेसबुक हेर्ने हो भने सरकारको आलोचना र व्यंग्य मात्रै । समर्थन कतै नाइँ । पार्टी फरक पर्यो उनको र सरकारको । कुनै एक पार्टीमा जान मलाई पनि सुझाउँथे बेलाबखत । यत्तिकैमा झगडा परिहाल्ने ।   

एकदिन राति अबेरसम्म अनलाइन थिएँ । लगभग १२ः३० को समयतिर निन्द्रा नपरेका कारण न्यूज हेर्दै थिएँ । उनै दाईको म्यासेज आयो ‘बुइनी’ । यो शब्द निकै प्यारो लाग्छ । यति भनेपछि म फेरि मख्खै । तर रिप्लाई दिन अलि अप्ठेरो लाग्यो । उसै त नराम्रो मान्छन् अरुसँग बोल्न । झनै मध्यरातको समय । फेरि उनैले म्यासेज पठाए, ‘किन भाउ खोजेकी बुइनी, बोइफ्रेण्डसँग बिजी कि के हो ?’   

अलिकति ढिलो रिप्लाई गयो कि हरकोहीले यही सोध्छन् । बोइफ्रेण्डसँग बिजी हो ? रिस त कति उठ्ने, तैपनि सम्हालिन्छु । होइन भन्यो । मुश्किलले पत्याएझैँ गर्छन् । उनीहरुको दिमागमै यही छ, मध्यरातमा अनलाईन बस्ने ‘जोडी’ नै हुन् । त्यस्ता अबुझसँग शब्द के खर्चनु !   

तेस्रो पटक पनि म्यासेज आएपछि रिप्लाई दिन करै लायो । ‘हजुर दाई, छैन बिजी’, जवाफ पठाएँ ।   

त्यो दिन ‘सभामुख महरा–रोशनी’ काण्डको चर्चा थियो बजारमा । सामाजिक सञ्जालमा महराकै ट्रोल । सुरुमा बलात्कारको आरोप लगाएकी रोशनीले पछि बयान फेरेर आरोपितसँगको सम्बन्ध ‘बाउ छोरीको’ भनेपछि ट्रोलरलाई के चाहियो ? महरा र रोशनी सम्बन्धलाई नङ्ग्याउनु सम्म नङ्ग्याए । 

उनी पनि त्यसैको ह्याङ्गमा रैछन् कि, दुई चार कुरा गर्दै जाँदा भनिहाले, ‘लुकि चि….गरे पनि हामी दाजु बहिनी है त !’ त्यो खाली स्पेसको शब्द उच्चारण योग्य थिएन । छाडा । अति नै घिन लाग्दो । छि ! यस्ता पनि ‘दाई’ । ‘परिवार, छोराछोरी भएका मान्छेले पनि यस्तो के बोलेको ? तपाईँको म्यासेज स्क्रीन सर्ट हानेर पोष्ट गरिदिउँ ?’ मस्तिस्कले भन्दानभन्दै ल्यापटपका कि बोर्डमा औंला चलेछन् । त्यसपछि ब्लक । उतैबाट । मैले त कि बोर्डमा लेख्ने वित्तिकै मनैबाट ‘दाई’ लाई ब्लक गरिसकेकि थिएँ । 

भगवान कसम म तिमीलाई माया गर्छु । आइ लभ यू । भेट्न चाहन्छु । भेट्छौ नि ? तिम्रो खुशीका लागि जे पनि गर्न तयार छु । तिमी खुशी, म पनि खुशी । तिमीलाई सुखले राख्छु । एक पटक मौका देऊ । तिम्रो फोटो पठाउ । यी त सामान्य हुन् । कोही त यति बहादुर आउँछन् कि सिधै ‘सेक्स गर्न मन छ तिमीसँग’ भन्छन् बाबै । तस्विर पठाउँछन् त्यस्तै घिनलाग्दा । घरी बडी त घरी…छि ! तिनी पनि पुरुष होलान् र ? सायद मै झुक्किएँ कि ।   

यहाँ लैजान्छु, त्यो किनिदिन्छु, घुमाइदिन्छु भन्ने त कति कति । कति महिला यही प्रलोभनमा परी भेट्न पनि जाँदा हुन् । रत, बलात्कारको ग्राफ उँभो लागेको छ ।   

सबै पुरुष पनि नराम्रा हुँदैनन् । महिलालाई सम्मान, हौसला र निश्वार्थ भावले साथ दिने पनि नभएका होइनन् । तर, संख्या बलात्कृत मानसिकताकै बढी छ । त्यसैले पनि महिलाहरु सकेसम्म पुरुष मित्र बनाउन चाहँदैनन् । मन त कोमल नै हुन्छ तर, पत्थरको लेप लगाउनै पर्छ महिलाले । नत्र फसिन्छ, बेचिइन्छ । जीवन नांगिन्छ । उजाडिन्छ । समाजमा तिरस्कृत भइन्छ ।   

निबन्धकार शर्माका आईमाई साथीहरुको संख्या सयकडा पाँचसम्म पुग्न नसक्नुको कारण पनि यी नै पो हुन् कि ! उनको साफ नियत निबन्धमा प्रष्ट देखिन्छ तर, कति महिलाले उनलाई पनि गिद्ध पो सम्झिए कि ! 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *