जोखिममा डिजिटल बैंकिङ, नयाँ नोट वितरण रोकिँदै, छपाइ र वितरण व्यवस्थापनमा मात्रै वार्षिक ३ अर्ब खर्च

असोज १३, काठमाडैँ । अज राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले थुप्रै विषयलाई आफ्नो फ्रन्ट पेजको समाचार बनाएका छन् । त्यसमध्ये अन्नपूर्ण पोस्टले जोखिममा डिजिटल बैंकिङको विषयमा समाचार लेखेको छ ।
अन्न्पूर्णका अनुसार चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए। पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्यो। नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन्।
यो घटनामा प्रभु बैंकले २ करोड ४५ लाख, ग्लोबल आईएमईले ४६ लाख, सनराइजले २५ लाख, माछापुच्छ्रे २१ लाख, एनआईसी एसियाले १७ लाख, सिटिजन्सले ३ लाख ४५ हजार र जनताले २ लाख रुपैयाँ गुमाए। त्यसमध्ये १ करोड २६ लाख स्वदेशी र थप ५० लाख रुपैयाँजति विदेशी पैसा बरामद भएको छ।

कृषि विकास बैंकको ट्रेजरीबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्ति र संस्थाको खातामा रकमान्तर गरी लुट्ने प्रयास भयो। उक्त घटनामा पिटर नामका व्यक्तिले भारतमा बसेर नेपाली नागरिकलाई प्रयोग गरी ५ अर्ब लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य अभियुक्तलाई समाते पनि पिटरसँग उनीहरूको सम्बन्धबारे अनुसन्धान अधिकृत स्पष्ट हुन सकेका छैनन्।
अन्नपूर्ण पोष्टले नै लेखेको छ, भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ। यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै आएको छ।
भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार विदेश व्यापार महानिर्देशनालयलाई अर्को आदेश नआएसम्म प्याज निर्यातमा प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। दिल्ली सरकारले आइतबारदेखि नागरिकलाई एकपटकमा पाँच किलो मात्रै खरिद गर्न पाउने नियम लगाएको छ।
मन्त्रालयले थोक विक्रेताको हकमा अधिकतम ५ सय र खुद्रा व्यापारीको हकमा १ सय क्विन्टल मात्रै भण्डारण गर्न पाउने कोटा तोकेको छ। अत्यधिक परिमाणमा भण्डारण गरी कालोबजारी गर्न सक्ने आशंकापछि यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
त्यसैगरी कान्तिपुर दैनिकले, नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो । अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।
राष्ट्र बैंकले यसै वर्षदेखि नोट सटहीमा कटौती सुरु गरेको छ । यसपटक प्रतिव्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही सुविधा दिइएको छ । गत वर्षभन्दा यो ८ हजार ५ सय कम हो ।
पछिल्ला वर्ष राष्ट्र बैंकले ‘सफा नोट नीति’ कार्यान्वयनमा ल्याएको छ । यो नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गरेपछि नयाँ नोट वितरण बन्द गरिने राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । अन्य पत्रपत्रिकाहरुमा छापिएको फ्रन्ट पेज यसप्रकार छ ।








