नेपालमै पहिलो पटक ‘सारङ्गी–आर्केष्टा’

असोज ५, काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा देशमै पहिलो पटक मौलिक नेपाली लोकबाजा ‘सारङ्गी’को आर्केष्टा अर्थात् सामूहिक वादन प्रस्तुत गरेको छ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भसमेत जोडेर जमलस्थित राष्ट्रिय नाचघरमा सांस्कृतिक संस्थानसँगको सहकार्यमा आयोजना गरेको ‘सारङ्गीमा देश’ शीर्षक वाद्यवृन्द (लोकधुनहरू)को प्रस्तुति कार्यक्रममा एकै पटक १८ ओटा  सारङ्गीको सामूहिक धुन बजाइएको थियो ।   

कार्यक्रममा सारङ्गीमार्फत् मंगल धुन (परम्परागत धुन), सोरठी धुन (गण्डकी कर्णाली प्रदेशमा प्रचलित लय), पालम भाका, (लिम्बू समुदायमा प्रचलित लय), असारे भाका (रोपाइँको समयमा गाइने लय), मैथिली भाका (मिथिला क्षेत्रमा प्रचलित लय), कौडा भाका, (गण्डकी प्रदेशमा प्रचलित भाका) सारङ्गीधुनमा प्रस्तुत गरिएको थियो ।   

त्यस्तै शिरसया हेकु (नेवारी लोकधुन), संगिनी धुन, (महिला समूहमा गाइने प्रचलित लय), वा माया वा (नेवारी लोकधुन), मालश्री (दशैँमा बजाइने परम्परागत धुन), धिमाल धुन (पूर्वी तराईमा रहने धिमाल समुदायमा प्रचलित लय), साकेला भाका (पूर्वी पहाडमा रहने किराँत राई समुदायको गीत), म्हेन्दोमाया (मध्य नेपालमा रहने तामाङ  समुदायको लोकलय), थकाली धुन (गण्डकी प्रदेशमा बसोबास गर्ने थकाली समुदायको लोकधुन) र देउडा धुन (सुदूरपश्चिम, कर्णाली प्रदेशमा प्रचलित लोकलय)लाई सारङ्गीमा अत्यन्त सुन्दर ढङ्गले सुनाइएको थियो । 

null

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले संयोजन गर्नुभएको ‘सारङ्गी–आर्केष्टा’मा सारङ्गी वादनको संयोजन भरत नेपालीले गर्नुभएको थियो । कलाकारले कार्यक्रममा १६ प्रकारका भाकामा सारङ्गी बजाएका थिए ।   

सारङ्गीलाई बाँसुरी, सनई, ताल बाजा, टुङ्ना, मुर्चुङ्गा, पात, चरी बाजा र पियानोले साथ दिएको थियो । इन्द्रेणीको लालित्यको परिकल्पना गर्दै एक सारङ्गीवादक भरत नेपालीले तयार पार्नुभएको धुन ‘क्या राम्रो इन्द्रेणी’ कार्यक्रमका लागि नौलो र आकर्षक बनेको थियो ।   

कार्यक्रम भरतले आफैँले आविष्कार गरेको १२ तारे सारङ्गीको धुन सुनाउनुभएको थियो । उनले उक्त बाजालाई ‘भरत बाजा’ नाम दिएको पनि बताए । कार्यक्रममा प्रस्तुत तालबाजाको संयोजन भरत बुढाथोकी र नरेश प्रजापतिले गरेका थिए ।   

कार्यक्रममा भरत नेपाली, खुम केसी, सबिन लिम्बु, सन्तोष पाठक, संजोग मल्ल, किरण महर्जन, राजु महर्जन, बिजय तामाङ, डेनियल क्रिष्टिफर सुब्बा, आयुष्मा जोशी, राहुल मान्नधर, मौसम सुनुवार, सरुण मानन्धर, धर्म गन्धर्व, व्रत गन्धर्व, अरुणा गन्धर्व, दिपेश नेपाली र चिकारा मेडले सारङ्गीको धुन बजाएका थिए ।   

त्यस्तै, कार्यक्रममा रत्न बिकेले बाँसुरी, धनबहादुर गुरुङले सहनाई, खड्ग बुडा, अनिल थापा, पोषण घर्ती र राम सुस्लिङ ताल बाजा (मादल) वाद्यवादनमा रहेका थिए । यसै गरी लोकराज राईले टुङ्ना र हिरन राईले मुर्चुङ्गा, बिनायो, पात र चरी बाजा बजाउनुभएको थियो । कार्यक्रममा कला राई, मेनुका राई, निशा आङ्देम्बे, रनु थापा, गंगा राई, सञ्जय तुम्रोक, सीता सिंगकलगायतका गायक÷गायिका कोरस गायनको भूमिकामा प्रस्तुत भएका थिए ।   

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लोपोन्मुख अवस्थामा रहेको लोकप्रिय मौलिक नेपाली बाजा सारङ्गीको आर्केष्टा प्रस्तुत गरेर सङ्गीत–नाट्य प्रज्ञा–प्रष्तिठानले प्रशंसनीय कार्य गरेको बताए ।   

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)ले मौलिक नेपाली लोकबाजा सारङ्गीलाई विविध लोकप्रिय लोकलयमा मिसाएर प्रस्तुत गर्नुका साथै सारङ्गीसँग सम्बन्धित समुदायको सम्मान र प्रवद्र्धनका लागि समेत सघाउ पु¥याउने उद्देश्यले यसप्रकारको कार्यक्रम आयोजना गरेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *