टेकु अस्पतालमा बिरामीको चाप: डाक्टर भन्छन्– बजेटले मात्रै डेंगु नियन्त्रणमा आउँदैन
भाद्र २६, काठमाडौं । डेंगुका कारण थलिएका रामप्रसाद पौडेल बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको एक बेडमा सुतिरहेका थिए । धादिङ, थाक्रे गाउँपालिका वडा नम्बर–३ घर भइ हाल बानेश्वरमा बस्दै आएका उनको अनुहार निकै मलिन देखिन्थ्यो ।
गएको सोमबार मात्रै अस्पताल भर्ना भएका हुन् उनी । १० दिनअघि उनलाई सुरुमा रुघाखोकी, ज्वरो देखा पर्यो । मेडिकल टेष्ट गराए, पहिलो चरणको डेंगु देखा परेको रहेछ । डाक्टरको सल्लाह अनुसार सिटामोल, झोलिलो पदार्थ, पानी प्रशस्त पिए । नक्सालस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्समा मार्केटिङ म्यानेजरको रुपमा कार्यरत पौडेल दुई दिनजति घरमै बसे । अलि निको भएजस्तो भयो । नियमित ब्लड टेष्टमा पनि डेंगुको लक्षण हरायो । त्यसपछि नियमित कार्यमा लागे । तर, रुघा भने निको भएन । ज्वरो पनि बल्झियो । टाउको दुख्न थाल्यो, सहनै नसक्ने गरी । शरीर पनि झुम्म । उनी उठ्नै नसक्ने भए । निको हुने छाँटकाँट देखिएन । त्यसपछि डाक्टरलाई फोन गरे ।
डेंगुका कारण थलिएका रामप्रसाद पौडेल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउँदै
‘निको हुने अवस्था नदेखिएपछि मैँले डाक्टरलाई फोन गरेँ । २–४ दिन अस्पतालमै रहन सुझाव दिनुभयो । अनि अस्पताल भर्ना भएँ । अहिले डाक्टरको निगरानीमा औषधी खाइरहेको छु । दैनिक ब्लड टेष्ट भइरहेको छ । रिपोर्ट आउन बाँकी छ । रिपोर्ट राम्रो आयो भने सम्भवत भोलि डिस्चार्ज हुन सक्छ’ पौडेलले भने ।
उनकै छेउमा थिए अर्का बिरामी शिवराज सेढाईँ । उनी डेंगु उपचारकै लागि नारायणगढबाट काठमाडौं हानिएका हुन् । एक्कासी ज्वरो आउने, काम्ने, टाउको दुख्ने भएपछि आफूलाई डेंगु भएको हो कि भन्ने अनुमान लाए उनले ।
बिरामी शिवराज सेढाईँ
डेंगुको महामारी फैलिएको, डेंगु लागेर मृत्यु भएको खबर सुनिरहेका उनले ज्वरो आउने बित्तिकै डेंगु पो होकि भनेर शंका गर्नु स्वभाविक थियो । त्यसपछि नजिकैको पोलिक्लिनिकमा चेकअप गराए । कस्तो संयोग, उनले जे आशंका गरेका थिए, त्यही भयो । उनलाई डेंगु पोजिटिभ देखियो । उनले भने, ‘त्यसपछि दिदी र आमाको साथमा सिधै काठमाडौँ आएँ र शुक्रराज ट्रपिकलमा भर्ना भएँ । म आज डिस्चार्ज हुँदैछु । सरकारले डेंगु परीक्षण र उपचारका लागि ठाउँठाउँमा हेल्थ पोष्ट हामीलाई सहज हुने थियो, काठमाडौँ धाइरहनु पर्ने थिएन ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु बिरामीको चाप बढेको डा. अनुप बास्तोला बताउँछन् ।
हिजो मात्रै ज्वरो आएर, टाउको दुखेर चेकअपका लागि लगभग ५ सय बिरामी आएको उनले जानकारी दिए । उनका अनुसार अस्पतालमा भर्ना भएका डेंगु संक्रमित २६ जना छन् । अहिलेसम्म १ सय ३६ जना डिस्चार्ज भइसकेका छन् । पछिल्लो १०–१२ दिनमा चेकअपका लागि आएका लगभग साढे ३ हजारमध्ये १ लगभग १ हजार ८ सय १२ जनामा डेंगु पोजिटिभ देखिएको छ ।
डा. अनुप बास्तोला
बजेटले मात्रै डेंगु नियन्त्रणमा आउँदैन
सरकार अहिले तीन तहमा छ । स्थानीय तहमा छ, प्रादेशिक र केन्द्रिय । आएको बजेट पर्याप्त छैन । अहिलेको अवस्थामा बजेटले मात्रै डेंगु नियन्त्रणमा आउने पनि होइन । मुख्य त गाउँगाउँमा पुगेर त्यहीँका स्थानीयको समन्वयमा जनचेता फैलाउनुपर्छ, डेंगु नियन्त्रणका लागि । अभियान नै ल्याउनुपर्छ ।
जनता स्वयम् पनि सचेत हुनुपर्यो । धुवाँ छरेर दुई–चार वटा वयस्क लामखुट्टे मारेर मात्रै हुँदैन । घरभित्र, वरिपरिका लार्भा नष्ट गर्नुपर्यो । त्यसलाई हुर्कन दिनु भएन । त्यसपछि लामखुट्टेको घनत्व घट्छ, डेंगु लाग्नै पाउँदैन । यसका लागि अभियानले मात्रै पुग्दैन, महाअभियान नै ल्याउनुपर्छ । महामारी फैलिएका बेलामा नै हो यसलाई निर्मुल बनाउने नत्र फेरी आलटालमै सकिन्छ । अनि अर्को वर्ष उही स्थिति ।
उच्च हिमाली भेगमा पनि डेंगु देखिनुको मुख्य कारण जलवायु परिवर्तन र बढ्दो सहरीकरण हो । त्यसमाथि मानिसहरु विभिन्न ठाउँबाट त्यहाँ गइरहेका हुन्छन् । डेंगु संक्रमित मान्छे त्यहाँ पुगेको रहेछ भने त्यसबाट पनि सर्न सक्छ ।
लामखुट्टेले मन्त्री, मन्त्रीको घर भन्दैन
को सुरक्षित छ ? पुलिस, आर्मी गन लिएर बसेर लामखुट्टे नआउने हो र ? घरभित्र त एसि होला, सफासुग्घर होला । मन्त्रीज्यू मर्निङवाक जानु हुँदैन त ? विभिन्न कार्यक्रममा जानुहुन्छ । फिल्डमा जानुपर्छ । फोहोर ठाउँमा पनि हिँडिरहनु भएकै हुन्छ । उहाँहरु हिँडिरहनुपर्छ, कहिले कहाँ, कहिले कहाँ । त्यतिबेला टोकेको पनि हुनसक्छ ।
डेंगुका लक्षण
डेंगु एक प्रकारको ज्वरो हो । यो रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग ल्याउँछ । यसले साँझ बिहान टोक्छ । घर वरिपरी नै हुन्छ यो प्रजातिको लामखुट्टे । गमला, पानी जमेका स्थानमा यसले फुल पार्छ । त्यहीँबाटै यो हुर्कन्छ । एउटा संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ ।
यस्ता हुन्छन् लक्षणहरु
ज्वरो आउने ।
असाध्यै टाउको दुख्ने, रिंगटा लाग्ने ।
पेट दुख्ने ।
मांसपेशी, जोर्नीहरु दुख्ने, झमझमाउने ।
हड्डी करकरी खाने, थकान महशुस हुने ।
रक्तश्राव हुने ।
वाकवाकी लाग्ने, उल्टी हुने ।
बिमीराहरु देखा पर्ने ।
यस्तो अवस्थामा बिरामीको मृत्यु
हाम्रो देशमा अझैपनि विकट ठाउँतिर उपचार नगराइ घरमै बस्ने प्रचलन छ । उल्टी भइरहने, गिजाबाट रगत बगिरहने, श्वासप्रश्वास बढ्ने, श्वास फेर्न गाह्रो हुने, उठ्नै नसक्ने, ज्वरोले मुर्छा पर्ने, काम्ने व्यक्तिहरु तुरुन्त अस्पताल भर्ना नभएमा ज्यान जान्छ ।
त्यस्तै भर्ना गरिएका केही व्यक्तिमा रक्तश्राव भएको देख्न सकिन्छ । त्यस्ता बिरामीको विपि कम भएको बेलामा समयमै उपचार हुन सकेन भने मृत्यु हुन सक्छ । अर्को डेंगुको कारणले गर्दा हाम्रो रक्तनलीको पानी बाहिर निस्किन्छ । जसकारण विपि घट्छ । त्यो अवस्थामा शरीरका विभिन्न अंगहरुले काम गर्न छोड्छ । अक्सिजन नपुगेर मृत्यु हुन सक्छ ।
बिरामीले के खाने ?
झोलकुरा प्रशस्त खाने । ४–४ घण्टामा सफा पिसाब आउने गरी पानी पिउने । प्यारासिटामोल खाने ।
बच्ने उपाय
घरभित्र लामखुट्टे आउन नदिने
झ्याल, ढोकामा जालीको प्रयोग गर्ने ।
झुल प्रयोग गर्ने ।
लामखुट्टेको टोकाइबाट बच्न धुप बाल्ने,
सम्बन्धित क्रिमहरुको प्रयोग गर्ने ।
घर वरिपरि पानी जम्न नदिने । सफा राख्ने । झाडी नराख्ने
गमला, फुलदानीमा रहेका पानी हप्तामा दुई पटक फेर्ने ।
खानेपानी, पानीको ट्यांकीलाई राम्रोसँग छोपेर राख्ने ।
शरीर ढाक्ने लुगा प्रयोग गर्ने । लामखुट्टेको टोकाइबाट बच्ने ।
लामखुट्टेका लार्भाहरु खोजेर नष्ट गर्ने ।