डेंगु नियन्त्रणमा लाचार सरकारलाई सहयोग किन नगर्ने ?

मुलुकभर डेंगुको महामारी फैलिइरहँदा राज्य संयन्त्र बेखबर बनी रहेको छ । पूर्वी नेपालको धरानबाट ३ महिना अघि देखापरेको डेंगु अहिले तराईका जिल्लासँगै राजधानीमा समेत महामारीको रुप लिन थालेको छ । सरकारले डेंगु नियन्त्रणका लागि अपनाएको अभियान निरर्थक बन्दै गएको छ । ३ महिला अधि सुनसरीको धरानमा देखापरेको डेंगु देशका ५६ जिल्लामा महामारीका रुपमा फैलिइसक्दा त्यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम नचाल्नु राज्य जनताको स्वास्थ्यवस्था प्रति चिन्तित छैन भन्ने दर्शाएको छ । 

देशका विभिन्न क्षेत्रमा रहेका अस्पतालहरुमा डेंगुका विरामीको संख्या दिन प्रतिदिन बढिरहेका छन् । डेंगुकै कारण छ जनाले ज्यान गुमाई सके । गत आइतबार मात्रै टेकू स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३६३ जनाको डेंगु परीक्षण गरिँदा १९४ जनामा संक्रमण भेटियो । निजी अस्पतालहरुमा गएर उपचार गराउनेहरुको तथ्यांक सरकारसँग छैन । अघिल्लो दिन शनिबार गरिएको परीक्षणमा २९६ जना मध्ये १४४ जनामा डेंगु संक्रमण देखा परिसकेको छ । डेंगुले सर्वसाधारणलाई त भेट्यो भेट्यो, मन्त्री, सांसदसम्मलाई आइसियूमा भर्ना गर्नुपर्ने अवस्था आइसक्दा पनि सरकार रमिते बनेको देख्दा बामपन्थी सरकार जनताको स्वास्थ्य सुरक्षामा संवेदनशील छैन भन्ने प्रष्ट छ ।   

काठमाडौं जस्तो चिसो ठाउँमा तराईमा फैलने डेंगु देखापर्नु चिन्ताजनक कुरा हो । दिन प्रतिदिन पृथ्वीको तापक्रम बढ्नु, परजिवीहरुमा प्रतिकूल मौसममा पनि बाच्ने शक्तिको विकास हुँदै जानु, मानव शरीरमा रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर बन्दै जानु तथा फोहर प्रदुषणका कारण सरुवा रोगको प्रकोप बढीरहेको छ ।   

Image result for डेंगू रोगी

राज्य र स्वास्थ्य मन्त्रालयले डेंगु नियन्त्रणमा सबै उपाय अवलम्बन गरेपनि नियन्त्रणमा आउन सकेन भनेर लाचारी प्रकट गरिसकेको अवस्थामा अब डेंगुबाट कसरी बच्ने सर्वसाधारण जनता आफैं सचेत हुनुपर्ने भएको छ । रोग लाग्नबाट कसरी बच्ने सर्वसाधारणले बुझे केहि हदसम्म डेंगुबाट बच्न सकिन्छ । यो लामखुट्टेको टोकाईबाट एउटा ब्यक्तिबाट अर्कोमा सर्ने सरुवा रोग भएकोले सकेसम्म लामखुट्टेको टोकाई बाट बच्नु सबैभन्दा ठूलो उपाय हो । त्यसका लागि आफ्ना घर तथा घरवरपरको वातावरण सफा र स्वच्छ राख्नुपर्दछ । लामखुट्टेको बासस्थान फोहर, खाल्डाखुल्डीमा पानी जम्न नदिने, नदी तलाउ सफा राख्ने,  किटनाशक औषधी प्रयोग गर्ने तथा राती सुत्दा झुल प्रयोग गर्ने वा शरीरमा लामखुट्टेको टोकाईबाट बच्ने मल्हम प्रयोग गर्न चिकित्सकले सुझवा दिइरहेका छन् ।   

ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण डेंगुका लक्षण हुन् । दुई तिहाईको सरकार आफैं डेंगुबाट थलिएको अवस्थामा जनताको स्वास्थ्य प्रति संवेदनशील हुन सक्ने अवस्था देखिएन । त्यस कारण अब हामी जनता आफैंले डेंगु नियन्त्रण अभियान चलाउनु पर्दछ । त्यसको सुरुवात भनेको आफ्नै घर परीवार बाट गर्ने हो ।   

कतिपय कुरा राज्य आफैंले गर्न संभव छैन । स्वास्थ्य सुरक्षामा राज्यलाई जनताले साथ र सहयोग नगर्ने हो भने, सरकारले मात्रै गरेर केहि हुनेवाला पनि छैन । सरुवा रोग नियन्त्रणमा राज्यले अभियान चलाउन सक्ला तर, त्यसलाई सार्थकता बनाउन र सफल बनाउन आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । डेंगु नियन्त्रणमा राज्यले दक्ष जनशक्ति र सचेतना फैलाउँदा जनताले पनि साथ दिनुपर्छ । त्यस कारण अब सरकारले गरेन, राज्य जनताको स्वास्थ्यवस्था प्रति उदासिन भयो भनेर टोले गफ गरेर दिन विताउनु भन्दा आफ्नो टोल छर छिमेकमा आफैंले डेंगु रोग विरुद्ध अभियान थाल्दा आफुलाई मात्र हैन समाजलाई नै स्वस्थ र स्वच्छ बनाउन सहयोग पुग्छ । डेंगु नियन्त्रणमा आउन सक्छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *