‘ब्यक्तिको अभावमा पनि अब बराह सिस्टम र प्रक्रियामा अटोमेटिक चल्न सक्ने भएको छ’

सामान्य सुन पसलबाट शुरु भएको बराह ज्वेलरी आज २५ वर्षको अन्तरालमा अन्तराष्ट्रिय स्तरको कम्पनीमा रुपान्तरित भएको छ । सुनसरीको धरानबाट ब्यवसायीक कारोबार सुरु गरेको बराहले २५ वर्षमा आफुलाई धरानमा मात्र सिमित राखेन । यसले स्वदेश देखि विदेशसम्म आफ्नो सेवा पुर्याउन सफल भयो । परम्परागत सुनचाँदीका गुणस्तरीय गरगहनालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन बराहले चालेको अभियान उदाहरणीय मात्र छैन । स्वदेशी उत्पादनको प्रर्वद्धन, स्वरोजगारको अभियान अनुकरणीय समेत छ ।   

बराहले बिजी ग्रुप अन्तर्गत विगतमा भाद्र ५ गते आफनो स्थापना एवम वार्षिक उत्सव मनाउदै आएकोमा यस बर्ष २५ औं व्यवसायिक उत्सव भव्यरुपमा सम्पन्न गर्न भोली असोज १३ गतेका दिन मनाउँदैछ । उक्त दिन बराह ग्रुपका संस्थापक स्वर्गिय ईन्द्र कुमार लामिछानेको जन्मोत्सव समेत हो । बराहको विगतको अवस्था, २५ वर्षमा हासिल गरेको आरोह अवरोह, सफलता, चुनौति र भावी योजनाका सन्दर्भमा बराह ज्वेलरी इण्डष्ट्रिज धरान शाखा प्रमुख मानबहादुर दियालीसँग मकालु सहकर्मी भरतराज शर्मा (गोपाल)ले गरेको कुराकानीको संक्षेपः 

१) सामान्य सुन पसलबाट सुरु भएको बराह ज्वेलरी २५ वर्षमा आइपुग्दा यसले हासिल गरेका आरोह अवरोधलाई कसरी मुल्यांकन गर्नुहुन्छ ?   

एउटा सामान्य सुन पसलबाट शुरु गरेको संस्था अहिले देशदेखि विदेशसम्म पुग्नु चानचुने कुरा हैन । बराहको २५ वर्षे यात्रामा ब्यवसायिक आरोह अबरोह छ । समग्रमा मुल्याङकन गर्दा बराहको आरोह अवरोहबाट मैले पनि धेरै कुरा सिक्न र अनुभव गर्न पाएको छु । यस कारण बराहलाई ब्यवसायीक ज्ञान पाउने विश्वबिद्यालयको रुपमा लिन्छु । 

२) सुरुवाती अवस्थामा यसलाई यसरी बृहद रुपमा लिएर अगाडी बढ्ने कुनै योजना थियो ?   

बराहको परिकल्पनाकार स्व.ईन्द्र लामिछानेले यसलाई कम्पनीमा रुपान्तरण गरेर बृहद योजना बनाउँदा म पनि एउटा योजनाकारको रुपमा थिए । उहाँको सोच र हाम्रो योजना अनुसार नै बराहलाई कम्पनीमा रुपान्तरण गरेर यसलाई अभियानका रुपमा अगाडी बढाउने, एउटै क्षेत्रमा नभएर विभिन्न क्षेत्रमा अगाडी बढाउने सोच थियो र, योजनालाई सफल बनाउन बराहका शुभचिन्तक ग्राहक, सञ्चालक तथा सेयर सदस्यहरु कै ठूलो भूमिका रहेकाले म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 

३) बराह ज्वेलरीका मुख्य परिकल्पनाकार अहिले हुनुहुन्न यो अवस्थामा यसको सञ्चालन, ब्यवस्थापन कसरी भइरहेको छ ?   

यो सुरुमा आफन्त र पारिवारीक रुपमा सञ्चालित थियो । परम्परागत रुपमा चलेको थियो । अहिले कर्पोरेट रुपमा विभिन्न ब्यापार ब्यवसाय सञ्चालन गरिँदै आएको छ । जहाँसम्म ब्यवस्थापनको कुरा छ । अहिले बराह सिस्टममा चलेको छ । विभिन्न बिज्ञको सहभागीता र जिम्मेवारीबाट यो चलायमान छ । सिस्टम र पद्दतिलाई सही तरीकाले लगियो भने संस्था सञ्चालनमा कुनै कठिनाई नहुने मैले अनुभव गरेको छु । ब्यक्तिको अभावमा पनि अब बराह सिस्टम र प्रक्रियामा अटोमेटिक चल्न सक्ने भएको छ । 

४) पूर्वको एउटा सामान्य शहरबाट सुरु भएको बराह ज्वेलरी अहिले देश देखि विदेशसम्म फैलिइरहँदा यसको आर्थिक र सांगठनिक अवस्था कस्तो छ ?   

बराह ज्वेलरी इन्डष्ट्रिज पारदर्शीतामा विस्वास गर्दछ । हामीले जे–जे काम गर्दछौं मलाई लाग्छ २५ वर्षे व्यवसायीक यात्रामा हाम्रा कुनै कुरा लुकेका छैनन् । हामीलाई विस्वास गरेर जो सेयर सदस्य तथा शुभचिन्तकहरुले लगानी गर्नुभएको छ त्यसलाई सेयर सदस्यहरु आर्थिक, सामाजिक क्षेत्रमा लगानी गरेका छौं । जुनसुकै क्षेत्रमा लगानी गरेपनि त्यसलाई सुरक्षित तवरले लगानी गरेका छौं । नेपाल सरकारको सरकारी ऐन विनियम भित्रै रहेर कार्य गरिररहेका छौं । त्यो सबैकुरा आम जनता, शुभचिन्तक तथा सेयर सदस्यसँग प्रष्ट छ । हाम्रो लगानी कर्ताहरु र लगानीमाथि शंका गर्ने ठाउँ नरहेको दावी गर्छु ।   

५) बराह ज्वेलरीलाई कम्पनीमा रुपान्तरण गरेपछि लगानी गर्नेहरु बढेका छन्, उनीहरुले गरेको लगानीलाई कम्पनीले कसरी सुरक्षित र संरक्षित गरेको छ ?   

बित्तिय सञ्चालन विधि ऐन सरकार, राष्ट्र बैंकले नै तोकेकोे हुनाले बराहले २४/२५ बटा ब्यवसाय गर्दा सोही अनुसार सिस्टम बनाएरै हिँडेको छ । बराहको सबै सेवा सबै क्षेत्रलाई समेटेर बराह प्राईभेट लिमिटेडमा लाने योजना छ । बराहले गरेका सबै लगानीहरु कम्पनी ऐन अन्र्तगत सञ्चालन हुनेछन् । र, बराह समुहको ब्यवसाय आवश्यकता अनुसार तथा पब्लीक पार्टनसिपको अवधारणमा पनि लान सकिने छ । हामीले गरेका लगानी सुरक्षित र शेयर सदस्यलाई अधिकतम लाभ दिने, समाजमा योगदान दिने तवरका छन् । म सम्पूर्ण शेयर सदस्य, शुभचिन्तकहरुलाई तपाईहरुको लगानी, बचत पूर्णरुपमा सुरक्षित रहेको विस्वास दिलाउन चाहन्छु ।  

६) देशमा लगानीको वातावरण भएन भन्दै लगानीकर्ताहरु पलायन भइरहेको अवस्थामा तपाईहरु झनझन नयाँ ठाउँ र क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ, जोखिम छैन ?   

राजनीतिक अस्थिरता, बन्द हड्ताल, असुरक्षाले विगतमा ब्यवसाय जोखिममा थियो । अहिले भने देशको राजनीतिक, आर्थिक अवस्था सुधार भएको छ । देश संघिय संरचनामा गएपनि मुलुकमा ब्यवसाय गर्ने वातावरण बन्दै गएको छ । असहज अवस्थामा त कत्तिपनि विचलित भएनौं भने अहिले त सहज वातावरण बन्दै गएको अवस्था छ । एउटा ब्यवसाय सफल हुन निरन्तरता, इमान्दारिता र परिश्रम हुनुपर्छ । हामीले यहि तीन कुरालाई लिएर अगाडी बढिरहेका छौं । र, अन्य उद्यमी ब्यवसायीले पनि यसरी नै अगाडी बढे रोजगारी दिन सकिन्छ । मुलुक निर्माणमा योगदान गर्न सकिन्छ ।   

७) स्वर्गिय इन्द्रबहादुर लामिछानेको आकस्मिक निधनले कम्पनीलाई केहि समय विवादमा पनि ल्यायो, एकथरीले बराह अब टाट पल्टिदैछ पनि भने, त्यो बेला यसलाई पुर्नजिवित गर्ने हिम्मत कसरी आयो ?   

जुन अभिभावकलाई भौतिक रुपमा गुमायौं त्यो अत्यन्त दुखद क्षण थियो । त्यत्तिखेर हामीलाई जसले मनबचन र कर्मले जत्ति साथ दिनुभएको थियो उहाँहरु कत्तिपनि विचलित हुनुभएन । हाम्रो अभियान नबुझ्ने २/ ४ प्रतिशत विचलित हुनुभयो । हामीले प्रगति गरेको हेर्न नचाहने हरुले मात्रै केहि अफवाहहरु फैलाएर हाम्रा शुभचिन्तक र शेयर सदस्यलाई विचलित बनाउन खोजेका थिए । तर, पछि उहाँहरुले हामीलाई विस्वास गर्यौं र, हामीले ‘हाम्रा अभिभभावक एक जनाले त यहाँसम्म ल्याउन सक्नुभयो भने, हामीले किन सक्दैनौं ?’ भनेर हिम्मत जुटाएर उहाँकै छोरा शिवकुमार लामिछानेलाई नै नेतृत्व गर्न लगाएर अगाडी बढ्यौं । यो बेलामा हामीलाई विस्वास गर्ने सम्पूर्ण तह तप्काका ग्राहक, शुभचिन्त र शेयर सदस्यहरुलाई म विशेष धन्यवाद दिन्छु ।   

८) बराहलाई रोजगारी सृजना गर्ने र लगानी गर्ने सवालमा एउटा जाति र समुदायको सिमित घेराभित्र राख्यो भन्नेपनि छन्, यसलाई कसरी खण्डन गर्नुहुन्छ ? 

शुरुवाती अवस्थाको कुरा गर्दा तपाईले भन्नु भएको सहि पनि हो । सुनचाँदीको परम्परागत गरगहना बनाउने भनेको दलित समुदाय नै हुनुहुन्थ्यो । अरु समुदायले त्यत्तिखेर सुरुवात गरेकै थिएनन् । पछिल्लो चरमा आएर राई, लिम्बु, गुरुङ, खस, ब्राम्हण सबैले यो पेशामा हात हाल्नु भएको छ । र, अहिले बराहको ब्यापार ब्यवसायमा कसैलाई काखा पाखा गरेका छैनौं सबैको समान सहभागीता गराएको छ । अहिले बराहमा प्रत्यक्ष रुपमा साँढे ६ सय र अप्रत्यक्ष रुपमा तीन हजार बढिले रोजगारी पाइरहेको अवस्थामा बराह एउटा जाति विशेषमा सिमित छैन । यो आरोप मात्र हो ।   

९) स्वदेशी लगानीलाई प्रोत्साहन गर्न राज्यले खेलेको भूमिकाप्रति तपाईहरु कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

अहिले राज्यले स्वदेशी उत्पादन र उद्योग ब्यवसायलाई प्राथमिकतामा राखेको देखिएको छ । तर, स्वदेशी लगानी र विशेषज्ञले मात्र तत्कालै मुलुकले समृद्धि हासिल गर्न सक्ने अवस्था नभएकोले केहि समयका लागि विदेशी लगानी र विशेषज्ञ आवश्यक जरुरी छ । राज्यले बनाएका नयाँ ऐन नीतिलाई कार्यान्वयन गरेर जानु हाम्रो दायित्व हो । तर, आज त्यसको बेस नबनाई कनै कार्यान्वयन गर्दा त्यसले कस्तो असर गर्छ त्यो पनि हेर्नुपर्छ । भोली राज्यको ऐन तथा नीति कार्यान्वयनमा असहजता आउन सक्छ । अहिलेको अवस्थामा विदेशी पुँजीहरु स्वदेशमा ल्याएर बढि भन्दा बढि रोजगारी सृजना गरे त्यसले भोली स्वदेशी पुँजी निर्माणमा समेत टेवा पुग्छ । 

१०) बराह ज्वेलरी इण्डष्ट्रिजले हाल आफ्नो सेवा कहाँ कसरी प्रदान गरिरहेको छ ? 

बराह ज्वेलरी हाल काठमाडौं, पोखरा, चितवन, हङकङ, धनकुटाको भेडेटार, चीनको गोन्जाउ, युएई हुँदै युकेसम्म फैलिएको छ । यसले मुख्यरुपमा परम्परागत तथा आधुनिक पत्थरजडित सुनचाँदीका गरगहना निर्माण गर्ने, स्वदेश तथा विदेशमा विक्रिवितरण गर्ने गर्दछ । सँगै डिपार्टमेन्ट स्टोर, सहकारी, रेष्टुरेन्ट, ट्राभल्स एण्ड टुर्स, यातायात, गीत संगितको क्षेत्र र कृषि क्षेत्रमा पनि लगानी गरिरहेको छ । 

११) कृषि क्षेत्रबाट दिनानुदिन युवाहरु विदेश पलायन भईरहेको बेला बराह चाहिँ किन आकर्षित भयो ?   

कृषिमा परम्परागत औजार तथा प्रविधिले गर्दा युवाहरुमा आकर्षण थिएन । त्यहि भएर उनीहरु विदेश पलायन भएको सत्य हो । कृषिमा क्रान्ति ल्याउन र युवाहरुलाई आधुनिक कृषि प्रणालीमा सहभागिता गराए ब्यवसायीक रुपमा कृषि क्षेत्रलाई अगाडी बढाउन सकिन्छ भनेर हामीले लगानी गरेका हौं । बराहले मोरङको तेतरियामा ५ करोडको लगानीमा आधुनिक कृषि फर्म स्थापना गरेको छ । माछा पालन, गाई पालन , कुखुरा पालन र आफ्नै कृषि फर्मबाट उत्पादित दुग्धजन्य पदार्थबाट  दुधका परिकारहरु बनाई बिक्री गरिन्छ । बराहको यो लगानीले युवाहरुलाई स्वदेशमै कृषि क्षेत्रमा पनि केहि गर्न सकिन्छ भनेर प्रेरणा समेत दिएको छ ।   

१२) २५ औं वर्ष प्रवेश गरेको अवसरमा बराहले ग्राहकहरुलाई के कस्तो सुविधा दिएको छ ? 

बराहले २५ औं वार्षिक उत्सव एवं रजत महोत्सवका अवसरमा धरान, काठमाडौं, पोखरा, चितवन, भेडेटार शाखा तथा विदेशका हङकङ्ग, दुबई, युके लगायतका शाखाहरुबाट गरिने नुनदेखि सुनसम्मका कारोबारहरुमा ग्राहक महानुभावहरुका लागि १० प्रतिशतदेखि ५० प्रतिशतसम्म विशेष छुट र सुविधा दिएको छ ।   

१३) आगामी वर्ष बराहलाई कसरी अगाडी लैजाने योजना छ ? 

बराहले चाँडै नै धनकुटाको नाम्जेमा होम स्टे सञ्चालन गर्दैछ । जहाँ स्थानिय स्तरमा उत्पादन भएका अर्गानिक खानाका परिकारहरुको साथमा पर्यटकहरुलाई सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।  यसका अलावा हामीले बराहलाई ब्यवसायीक भन्दा सामाजिक रुपमा सञ्चालन गरिरहेका छौं ।  

बराहले मुनाफाको केहि हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने अथवा खर्च गर्ने गर्दछ । बराह अभियान हो जसले सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा पछि परेका, हातमा सिप भएका पुँजी नभएर बेरोजगार भएकाहरुलाई रोजगारी समेत दिन्छ । आगामी दिनमा यसलाई अझ परिस्कृत र फराकिलो बनाएर लैजाने सोच बनाईरहेका छौं ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *