ट्रम्पले खाडी क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने

असोज ४, वासिङ्टन । संयुक्तराज्य अमेरिकाले खाडी क्षेत्रमा थप सैनिक पठाउने शुक्रबार घोषणा गरेको छ ।   

साउदी अरेबियाका महत्वपूर्ण तेल प्रशोधन केन्द्रहरुमा आक्रमण भएपछि अमेरिकाले उक्त कदम चाल्न लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो ।   

अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ । 

Image result for ट्रम्प

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो ।   

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो । 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताए । उनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिए ।   

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए ।   

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गरेका छन् । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो । 

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिएका थिए ।   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *