कांग्रेसको आरोपः सरकारले डेढ वर्ष पूरा गरिसक्दा जनतालाई पूरै निराश बनायो

भदौ १९, काठमाडौँ । नेपाली कांग्रेसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतालाई निस्तेज गर्ने प्रवृत्ति नसच्याए सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। संविधानको भावना, सुशासनको प्रत्याभूति र जनताका दैनिक सरोकारमा गम्भीर हुन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। 

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार राति सम्पन्न बैठकका निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको स्वेच्छाचारीविरुद्ध कांग्रेस संघर्षमा उत्रिने बताएका हुन्। 

‘जनताले नेपाली कांग्रेसको सशक्त भूमिकाको अपेक्षा गरेका छन्। सरकारविरुद्ध कांग्रेस आफ्नो भूमिका संसद् र संसद् बाहिर अझ सशक्त बनाउन प्रतिबद्ध छ,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘सरकारले डेढ वर्ष पूरा गरिसक्दा जनतालाई पूरै निराश बनाएको छ। संस्थागत भ्रष्टाचार, राज्य संरचनाको दुरुपयोग र राजनीतीकरण, महँगी, हिंसा, बलात्कार, असुरक्षा र अशान्ति सामान्य भएका छन्। यसविरुद्ध कांग्रेस आन्दोलनमा जान बाध्य हुनेछ।’ 

null

कांग्रेसले आन्दोलनबाट प्राप्त अधिकार खोस्ने, अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने, जनताको माझबाट स्वतस्फूर्त रूपमा विकसित सामाजिक, सांस्कृतिक र धार्मिक संरचनालाई ध्वस्त गर्ने कोसिस सरकारबाट भएको आरोप लगाएको छ। सरकार सत्ता नियन्त्रण, निषेधमा आधारित एकदलीय मानसिकता र चरम शक्तिको केन्द्रीकरण र कुशासनको पर्याय बनेको कांग्रेस ठहर छ। यो समाचार आजको अन्न्पूर्ण पोस्टमा छापिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =