मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘गरिबी बदल्नेगरी मन लगाएर काम गर्नुस्’


साउन १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका मन्त्रीहरुलाई समय तालिका बनाएर गरिबी र पछौटेपन बदल्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले यस्तो निर्देशन दिएका हुन् ।
null
उनले मुलुक विकसित हुने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गरिबी र पछौटेपनको चपेटामा परेको गुनासो गर्दै राष्ट्रलाई अघि बढाउन सरकारले आवश्यक नीति तथा कार्ययोजना तय गरेको पनि स्पष्ट पारे ।
‘मुलुक पर्याप्त सम्भावनाका बाबजुद पनि गरिबीको चपेटामा छ । अब यसलाई जतिसक्दो चाँडो हटाएर मुलुकलाई अघि बढाउनुपर्छ । सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी विकास निर्माणको कामलाई तीव्रता दिने लक्ष्य लिएको छ । यसलाई पुरा गर्न तपाईँहरु पनि लागि पर्नुस् । मन लगाएर काम गर्नुस्’ उनले भने ।
प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दावी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराए । सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै उनले सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए । उनले वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्न सबै मन्त्रीहरुलाई आग्रह समेत गरे ।
सम्झौता कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसामु मन्त्रीहरुले वार्षिक कार्ययोजना पेश गरेका थिए । यस वर्ष विभागीय मन्त्रालयले गर्ने काम कारवाहीको कार्ययोजना प्रस्तुत तथा कार्यान्वयनको सम्झौता भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले पहिलो पटक यसरी विभागीय मन्त्रीहरुसँग सम्झौता गरिएको जानकारी दिए ।
