चिकित्सा शिक्षा आयोगको शक्तिशाली उपाध्यक्ष बन्न को कति योग्य

 

साउन २३, काठमाडौं । समग्र चिकित्सा शिक्षाको सुधारका लागि सरकारले गठन गरेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुनका लागि दौडधुप गर्नेहरु यतिबेला सिंहदरबार र विभिन्न शक्ति केन्द्र धाउने क्रम बढेको छ । 

आयोगको उपाध्यक्ष अधिकार सम्पन्न कार्यकारी हुने भएकाले पनि चिकित्सा क्षेत्र बाहिरका ब्यक्तिहरुको समेत ध्यान केन्द्रित भएको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा साउन १५ सम्म बनेको उपाध्यक्ष सिफारिस समितिले आवेदन माग गरेको थियो । 

null

उपाध्यक्ष बन्न ११ जना बरिष्ठ चिकित्सकहरुको आवेदन दिएकोमा अन्तर्वार्ताका लागि ९ जना मात्रै छनौट भएका थिए । आवेदकमध्ये प्रा.डा. प्रमोदकुमार सर्राफ र प्रा.डा. जेएन पाण्डे हिमालीको आवेदन सिफारिस समितिले मापदण्ड नपुगेको भन्दैं रद्द गरिदिएको थियो । 

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष आकांक्षीमा प्रा.डा. पारसकुमार पोखरेल, प्रा.डा. निलमणि उपाध्याय, प्रा.डा.तरुण पौडेल, प्रा.डा. यहुनचन्द्र शिवाकोटी, प्रा.डा. रमेशप्रसाद सिंह, प्रा.डा. राजेन्द्रप्रसाद साह, प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा. शम्भु पहारी र प्रा.डा सुरेन्द्र शेरचन छन् । 

यहि साउन २६ र २७ छनौटमा परेकाहरुको अन्र्तवार्ता हुने भएकोले ९ जनै चिकित्सकहरुको त्यसको तयारीमा छन् । आकांक्षी मध्ये केहि माथिल्लो तहसम्म पहुँच राख्ने सामर्थ भएकाले छनौट स्वच्छ हुन्छ हुँदैन आशंका समेत छ । यसअघि प्रा.डा. धर्मकान्त बाँस्कोटा, प्रा.डा. भगवान कोइराला, प्रा.डा. अर्जुन कार्की र प्रा.डा. जगदिशप्रसाद अग्रवाल उपाध्यक्षका लागि योग्य मानिएपनि उनीहरु समेत सामेल हुन सकेनन् । 

आयोगको उपाध्यक्ष हुन सक्ने प्रभावशाली ब्यक्तिहरुमा प्रा.डा. श्रीकृष्ण गिरी, प्रा.डा यहुनचन्द्र शिवाकोटी, प्रा.डा. पारशकुमार पोखरेल छन् । प्रा.डा. गिरी, शिवाकोटी र पोखरेल तीनै जना एमाले निकट हुन् । नेकपाभित्रको तत्कालीन एमाले इतरले शिवाकोटीलाई सहयोग गर्ने देखिएको छ । यता डा. श्रीकृष्ण गिरीलाई तत्कालीन एमाओवादी पक्षधरले सहयोग गरेका छन् । डा. पारस पोखरेल संघिय समाजवादी फोरमको सपोर्टमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट भएका ब्यक्ति हुन । यीनलाई फोरम, एमालेको साथ छ । तथापि, गिरी र शिवाकोटीको हैसियतमा डा. पोखरेल पुग्न सक्ने अवस्था देखिन्न । 

गिरी शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेलका रुचाइएका पात्र पनी हुन् । गिरी न्याम्सका पूर्व रजिष्ट्रार तथा रेक्टर, मेडिकल काउन्सिलको सदस्य, रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगको सदस्य, चिकित्सा शिक्षा शुल्क निर्धारण समिति सदस्य, रिसर्च काउन्सिलको कार्यकारी सदस्य सचिव, उच्च शिक्षा आयोगको थिंक ट्याक कमिटी सदस्य र स्वास्थ्यमन्त्री हुँदा पोखरेलको सल्लाहकार भएका ब्यक्ति हुन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् । 

यता प्रा.डा. यहुनचन्द्र सिवाकोटी पनि आयोगको उपाध्यक्ष हुन योग्य ब्यक्तिमा पर्छन् । उनी यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का डिन भैसकेका छन् । न्याम्सको जनरल सर्जरीका प्रोफेसर रहेका उनले सन् १९९१ मा त्रिवि चिकित्सा अध्ययन संस्थान एमबीबीएस गर्दै जनरल सर्जरीमा त्रिवि चिकित्सा अध्ययन संस्थान महाराजगन्जबाट एमएस गरेका छन् । २०५० सालबाट सरकारी सेवामा प्रवेश गरेका उनीसँग डोटी अस्पताल, चितवन भरतपुर अस्पताल, वीर अस्पतालगायतका ठाउँमा काम गरेको अनुभव पनी छ । उनले वीरमा करिब १३ वर्ष काम गरे । उनी २०७१ सालमा न्याम्सको प्राध्यापक भएका थिए । 

आयोगको उपाध्यक्ष हुने दौडमा रहेका अर्का ब्यक्ति हुन् डा. तरुण पौडेल । डा. गोविन्द केसी पक्षबाट आएका पौडेलसँग अन्य उम्मेद्वारको भन्दा अनुभवको कमी छ । डा. पौडेल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विवादित ब्यक्ति डा. राजेन्द्र वाग्ले सँग राम्रो सम्बन्ध कायम गरेका ब्यक्ति हुन् । 

२०४८ सालमा सरकारी सेवामा प्रवेश गरेका डा. पौडेल ०७४ सालमा १२ औं तहबाट रिटायर्ड भएका थिए । करिब २६ वर्ष सरकारी सेवामा रहेका डा. पौडेलले आइओएमबाट २०४७ सालमा एमबीबीएस गरेका छन् । त्यसपछि सरकारी छात्रवृत्तिमा ०५५ सालमा आइओएमबाटै उनले एमडिजीपी गरेका छन् । भरतपुर, बाग्लुङ, र कर्णालीमा समेत रहेर काम गरेका उनले डा. गोविन्द केसीको एजेण्डालाई स्थापित गर्ने सोच बनाएका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिन, विभागमा कार्यरत प्रा.डा. पारसकुमार पोखरेल रक्षामन्त्री ईश्वर पोखरेलमार्फत आफ्नो पक्षमा लबिइङ गरिरहेको बुझिएको छ । 

डा. पोखरेल काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिसिन धुलिखेलमा कम्युनिटी मेडिसिन तथा फ्यामिली प्राक्टिस विभागमा अध्यक्षका रुपमा समेत काम गरेको अनुभव छ । उनले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट एमडी गरेका छन् । उनले आयोगको उपाध्यक्ष भएको खण्डमा विभिन्न सरकारी संस्था र प्रतिष्ठानहरुमा हुने राजनीतिक नियुक्तिलाई कम गरी प्रतिष्पर्धाबाट पदाधिकारी छान्ने सोच बनाएका छन् । ‘सबै तिर राजनीतिक नियुक्ति रोक्न मिल्दैन पदाधिकारीका सवालमा कम्तिमा २ वटा चैं प्रतिष्पर्धाबाट क्षमता र योग्यता हेरेर राख्न सकिन्छ कि ।’ मकालु खबरसँग डा. पोखरेलले भने । 

उपाध्यक्षको दौडमा रहेका प्रा.डा. रमेश प्रसाद सिंह नेपाल मेडिकल कलेज जोरपाटीमा हाडजोर्नी विभागका विभागीय प्रमुखका रुपमा कार्यरत छन् । उनले भारतको आरजी कर मेडिकल कलेजबाट एमबीबीएस गरेका छन् । पाकिस्तानको पोष्टग्राजुएट मेडिकल इन्स्टिच्युटबाट एमएस गरेपछि नेपाल प्रहरी अस्पतालमा करिब दुई वर्ष सेवा गरेको अनुभव उनीसँग छ । डा. सिंह करिब दुई दशकदेखि नेपाल मेडिकल कलेजमा कार्यरत छन् । यीनी नीजि मेडिकल कलेजवालाहरुको सिफारिसमा आउन सक्ने संभावना छ । तथापि, यीनीसँग आयोगलाई कसरी अगाडी लैजाने स्पष्ट कार्ययोजना भने छैन । 

यसैगरी मानसिक अस्पतालका पूर्व निर्देशक प्रा.डा. सुरेन्द्र शेरचन पनी उपाध्यक्षको दावेदार हुन् । बी एण्ड बी अस्पतालमा कार्यरत शेरचन पछिल्लो समय सामाजिक काममा ब्यस्त छन् । यीनले पाटनमा साइयाक्ट्रिसको अध्यापन सुरु गरेका थिए । डा. शेरचन विराटनगरको क्यान्सर अस्पतालमा कार्यरत रहेको थिए । एमबीबीएस र एमडी तत्कालीन सोभियत संघबाट गरेका डा. शेरचन २०४६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । 

नेकपाका बरिष्ठ नेता माधव नेपालको जिल्ला रौतहटका प्रा.डा. राजेन्द्र प्रसाद साह गण्डकी मेडिकल कलेज, पोखरामा प्रोफेसर र एनाटोमी विभागीय प्रमुख छन् । २१ वर्ष देखि शिक्षण सेवामा रहेका प्रा.डा. साह १० वर्षदेखि प्रोफेसर छन् । यीनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा रसियाबाट एमबीबीएस गरेका छन् । भने, बंगलादेशबाट एनोटोमी एमफिल गरेका छन् । यसका साथै बंगलादेशबाट एमएस अर्थोपेडिक्स सर्जरीमा माष्टर्स गरेका छन् । चिकित्सा अध्ययन संस्थानको एनोटोमी प्रोफेसर, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्थोपेडिक सर्जन, मेडिकल एशोसियनको नारायणी अञ्चल उपाध्यक्ष, एमबी केडिया डेन्टल कलेज वीरगन्जको प्रिन्सिपल समेत भइसकेका यीनी सँग कामको अनुभव छ । तर, राजनीतिक पहुँचको कुरा गर्दा यीनी जिरोमा छन् । 

लामो समय वीर अस्पतालमा काम गरेका प्रा.डा. शम्भु कुमार पहारी आयोगको सिफारिसमा परेका चिकित्सक हुन् । ३२ वर्ष सरकारी सेवामा विताएर अवकास जीवन विताइरहेका डा. पहारीले इन्टरनल मेडिसिन र कार्डियोलोजीमा तत्कालीन सोभियत रुसबाट पोष्ट ग्राजुएट गरेका छन् । उनले न्याम्सबाट एमडी गरेका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पा र युनिभर्सल मेडिकल कलेज भैरहवामा प्राध्यापकको रुपमा काम गरेका पहारी चीनको यु ज्याङ युनिभर्सिटीमा प्रोफेसरको भएर काम गरिसकेका छन् उनी स्वर्गीय कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा नीजि चिकित्सक थिए । 

आयोगको उपाध्यक्षका लागि लविङ गरीरहेका अर्का ब्यक्ति हुन् नेकपा निकटका प्रा.डा. निलमणी उपाध्याय । तर, यीनको पृष्ठभूमि राम्रो भने छैन । राजनीतिक रुपमा उपाध्यक्ष बन्ने आकांक्षा पालेका उपाध्याय विगत देखि नै शक्ति केन्द्रसँग साँठगाँठ गर्ने चिकित्सकका रुपमा बुझिन्छन् । 

यीनलाई भारतीय दुतावासको एजेन्टका रुपमा चिकित्सा क्षेत्रमा बुझिन्छ । भारतीय शक्ति केन्द्रमा राम्रो पहुँच बनाएका यीनी उपाध्यक्ष भए भारतीय इन्ट्रेष्टमा भयो भन्दा हुन्छ । डा. उपाध्याय नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार भइसकेका ब्यक्ति हुन् । यीनलाई काउन्सिलको रजिष्ट्रार हुँदा कानुन विपरित काम गर्न र गराउन मुख्य भूमिका निर्वाह गरेको, मेडिकल कलेजको सिट निर्धारणमा चलखेल गरेको, दुईवटा संस्थाबाट तलब लिने गरेको र चिकित्सा क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप गराएको आरोप छ । यीनलाई पेशागत चिकित्सा सम्बन्धी कामबाहेक कुनै पनि सरकारी अर्ध सरकारी निकायमा भविष्यमा लाभको पदमा नियुक्ति पाउन अयोग्य रहेको भन्दै कारवाहीको सिफारिस समेत भएको थियो । 

चिकित्सा शिक्षा आयोग भनेको मुलुकको चिकित्सा क्षेत्रमा विद्यमान विक्रिति विसंगतिलाई निर्मुल गर्न बनेको आयोग हो । जसले चिकित्सा शिक्षाको विकास, ब्यवस्थापन र भावी कार्य योजनामा ठूलो योगदान दिन सक्छ । मुलुकको चिकित्सा क्षेत्र दिनप्रतिदिन धरासायी बन्दै जानु सरकारी निकाय भ्रष्टाचारीहरुको अखडा बन्दै गइरहेको बर्तमान अवस्थामा डा. गोविन्द केसीको पटकपटकको आन्दोलनको बलमा गठित आयोग पुनः त्यस्तै भ्रष्ट र विवादित ब्यक्तिको पोल्टामा गए त्यसले चिकित्सा क्षेत्रको विकास र विस्तारमा कुनै योगदान दिन सक्दैन । यो विषयमा सम्बन्धित पक्ष संवेदनशील हुनै पर्दछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *