विप्लव नेकपाका नेता-कार्यकर्ता पक्राउको सूचना नचुहाउन सुरक्षा निकायलाई निर्देशन

 

साउन १७, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तामाथिको कारवाही तथा पक्राउ सूचना सञ्चार माध्यममा नदिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । 

विप्लव कार्यकर्ता पक्राउको सूचना अप्रेसनकै क्रममा चुहिँदा योजना असफल हुनसक्ने भन्दै त्यस्तो निर्देशन दिइएको हो । सूचना चुहिँदा विप्लवका कार्यकर्ता भाग्ने सम्भावना बढी हुने हुँदा विप्लव नेता कार्यकर्ताको सूचना तत्काल सञ्चार माध्यममा नदिन निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । 

null

गृह मन्त्रालय स्रोतका अनुसार एकजना अपराधी समातेजस्तो विप्लव समूह होइन । कुनै व्यक्ति पक्राउको सूचना चुहिनासाथ अन्य भाग्ने सम्भावना हुन्छ । सामान्य रूपमा सार्वजनिक नगर्नु नै उचित हुन्छ । 

गृह मन्त्रालय स्रोतका अनुसार वार्ताका लागि विप्लव नै बाधक रहेको निष्कर्ष छ । पछिल्लो समय वार्ताका लागि लबिङ गर्ने नेताहरुलाई कारबाहीस्वरूप विप्लवले सांगठनिक संरचनामा फेरबदल गरेको जनाइएको छ । गत साता बसेको पार्टी स्थायी समितिको बैठकले एक जना पोलिटब्युरो सदस्यसहित १८ जनालाई केन्द्रीय समितिको जिम्मेवारीबाट हटाइसकेको छ । 

हटाइएका पोलिटब्युरो सदस्य कृष्ण धमला हुन् । त्यस्तै, कारबाहीमा पर्ने केन्द्रीय सदस्यहरुमा आजाद केसी, भेषराज भुसाल, सन्ध्या, सम्झना घर्ती, बाबुराम विक, प्रतीक, मकर, उत्तम, असिनालगायत छन् । 

सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएपछि संगठनमा विप्लव समूहले हेरफेर गरेको पहिलोपटक हो । नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेपछि पार्टीभित्रैबाट आन्तरिक सूचना चुहाएको र गोपनीयता भंग गरेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ । 

‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताबाटै समस्या समाधान गर्नुको विकल्प नभएको बताएका छन् । 

चन्द समूहले सञ्चालन गरेको ध्वंसात्मक घटनामा संलग्न रहेको आरोपमा गत १ चैतमा ललितपुरबाट पक्राउ परेका कार्कीले महानगरीय प्रहरी परिसर टेकुसँग कुरा गर्दै देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिए । 

उनले आफू वार्ताको पक्षमा रहेको र वार्ताकै लागि विभिन्न सम्पर्क सूत्रमार्फत् प्रयास गर्दै गर्दा पक्राउ परेको जानकारी दिए । गृह मन्त्रालयले वार्ताका लागि विप्लव नै बाधक रहेको निष्कर्ष लिकालिरहँदा सो समूहका नेता कार्कीले भने वार्ताका लागि राज्य गम्भीर हुनुपर्ने बताए । 

पार्टीको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति भएको र छापामार युद्ध नरहेको उनको जिकिर छ । ‘एकीकृत जनक्रान्ति भनेको किसान, मजदुर, मध्यमवर्ग र राष्ट्रिय पुँजीपति वर्गलाई एकीकृत ढंगले अगाडि बढाउने र जनआन्दोलन सञ्चालन गर्ने हो,’ उनले भने, ‘कतिपय साथीहरुले त्यसलाई नबुझेर छापामार युद्धतिर लैजाने प्रयत्न गरिराख्नु भएको छ ।’ 

आफूले पार्टीका महासचिव चन्दलाई समेत पार्टीमा केही कुरा सच्याउन र कार्यदिशाअनुसार सहरका मध्यम वर्गको साथ लिएर जनतालाई राहत दिने सुझाव दिएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *