‘जाइरा’ काे टाेली राजधानी फर्के

भाद्र ४, धरान ।  भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘जाइरा’ टीम मोफसल प्रचार-प्रसार भ्याएर राजधानी फिरेको छ । 

 नेपाली फिल्मको दोस्रो ठूलो बजार मानने पोखराबाट फिल्मको प्रचार अभियान सुरु भएको थियो । यसपछि निर्माण टीमले चितवन, धरान र इटहरीमा विभिन्न कार्यक्रमको आयोजना गर्‍यो । इटहरीमा भने परम्परागत शैलीभन्दा भिन्न शैलीको कार्यक्रम आयोजना भएको थियो ।   

इटहरीका स्थानिय युवाहरुको सक्रियतामा लाखे जुलुस निकालेर फिल्मको टीमलाई स्वागत तथा बजार परिक्रमा गराइएको थियो । नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा मुखुन्डो पहिरिएर गरिने परम्परागत लाखे नृत्य ‘जाइरा’ रिलिजको संघारमा प्रस्तुत गरिएको हो । फिल्मको प्रचारमा सहयोग तथा रिलिजको खुशियालीमा लाखे जुलुस निकालिएको स्थानिय युवाहरुले बताए । 

फिल्मको मोफसल यात्रामा नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकार सम्राट मगरलगायत रहेका थिए । प्रचारको क्रममा विभिन्न शहरमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अभिनेत्री श्रेष्ठले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले फिल्म केही अनौठो लाग्न सक्ने बताउँदै फिल्म राम्रो बनेको खण्डमा सफल हुनेमा विश्वस्त देखिइन् ।   

मोफसलमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्सबारे सञ्चारकर्मीको जिज्ञासामा उनले फिल्म हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले ‘जाइरा’ मा आफू नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केही ग्ल्यामर देखिएको प्रष्ट्याए । त्यस्तै, पोखरा कै एक रक बारमा टम्बल वीड ब्याण्डले फिल्मको ओरिजिनल साउण्ड ट्रयाकको प्रस्तुती दिएको थियो ।   

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ । प्रनिता श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता प्रसन्न गोपाली हुन् । एक महिलाले लिने प्रतिशोधको कथामा ‘जाइरा’ निर्माण गरिएको बताइएको छ । बाबु श्रेष्ठले फिल्म खिचेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *