संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ, भोलि सुचारु हुन्छः नेकपा सचेतक गुरुङ
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
साउन १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले भोलि संसद सुचारु हुने स्पष्ट पारेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा नेपालले ठण्डा दिमागले सोच्ने र वार्ता तथा सहमतिको माध्यमबाट समाधान खोज्ने हो भने भोलि बस्ने सदन सुचारु हुने उनको विश्वास छ । उनले भने, ‘हामी अहिलेपनि अन्तरकुन्तरमा छलफल तथा वार्ता गरिरहेका छौँ । भोलि सदन सुचारु हुन्छ भन्ने कुरामा हामी आशावादी छौँ ।’
null
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुरुङले सदन खोल्नका लागि वार्ता गर्नुपर्ने धारणा राखे । उनले भने, ‘संसद अवरुद्ध गर्दा कांग्रेसलाई पनि घाटा छ । आफ्ना कुरा सदनमा राख्ने हो ।’
उनले सर्लाहीका तीन वटा घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्नु नै गलत भएको पनि बताए । उनले भने, ‘असार ५ गतेको घटनाको सवालमा भोलिपल्ट असार ६ गते राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । अहिलेसम्म उक्त घट्नामा संलग्न ११ जना प्रहरीमध्ये दश जनाको बयान लिने काम भइसकेको छ । अब केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छ ।’
मानवअधिकार आयोगले छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्न लागेको अवस्थामा फेरि अर्को छानबिन समिति बनाउन माग गर्नु गलत भएको पनि गुरुङको भनाई छ । उनले भने, ‘त्यस्तो अवस्थामा संसदीय छानबिन समिति बनाउनुपर्छ भनेर माग गर्नु कत्तिको उपयुक्त हुन्छ ? लोकतान्त्रिक मूल्य र मान्यताबाट हेर्दा र विधिको शासनको लेन्सबाट हेर्दा यो गलत छ ।’
संसदीय छानबिन समिति बनाउने नीतिगत कुरा भएको र मानवअधिकार आयोगले गर्ने छानबिन न्यायिक हुने पनि उनले तर्क गरे । उनले भने, ‘न्यायिक छानबिन भनेको कार्यान्वयनको सवालमा पनि बाध्यकारी हुन्छ । कानूनी र न्यायिक रुपमा छानबिन चलिरहेको अवस्थामा फेरि संसदीय छानबिनको माग गर्नु भनेको त नीतिगत छानबिनको माग गर्नु हो । हो, यदि मानवअधिकार आयोगको प्रतिवेदन चित्त बुझेन भने त्यो अवस्थामा सोच्न सकिन्छ । संसद सञ्चालन नियामावलीले प्रष्ट रुपमा क्षेत्राधिकार तोकिदिएको छ ।’
त्यस्तै, उनले असार १४ र १५ गतेको घट्नाको सवालमा कांग्रेसले उठाएका माग तर्कसंगत नभएको पनि जिकिर गरे । उनले भने, ‘उहाँहरुले जुन कुरा उठाउनुभएको छ, त्यो प्रक्रियागत पनि गलत छ । तर, छानबिन समिति गठन गर्ने माग सिद्धान्तः हुनसक्छ ।’
असार १४ र १५ गते सर्लाहीमै घटेका घट्नाको बारेमा पनि असार १८ गते सर्वदलीय बैठक बसि सहमति भैसकेको उनले सुनाए ।
उनका अनुसार उक्त १४ बुँदे सहमतिमा सरोजनारायण सिंहलाई सहिद घोषणा गर्ने, उनको श्रीमतीलाई कार्यालय सहयोगीको रुपमा जागिर दिने, छोरालाई निःशुल्क शिक्षा प्रदान गर्ने र शालिक बनाउने रहेका छन् । त्यस्तै, अमित राय यादवको सवालमा पनि ५ लाख रुपैयाँ क्षतिपूर्तिस्वरुप दिने, दुवैको परिवारलाई काजकिरिया खर्च जनही २५ हजार दिने, घाईतेहरुको निःशुल्क उपचार गरिदिने, राजकुमार महरालाई ५० हजार दिने सहमति भैसकेको पनि उनले सुनाए । उक्त सहमतिमा आफूहरुको पूर्ण सहमति र समर्थन रहेको पनि गुरुङको भनाई छ ।
सहमति र पहिल्यै नै सल्टिसकेको विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि किन उल्टाउन कोशिश गरिरहेको छ ? उनले प्रश्न गरे ।
त्यस्तै, उनले राजपा नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध गर्नुपनि गलत भएको टिप्पणी गरे । उनले भने, ‘हामी पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर भनिरहेका छौं । सरकारले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनिरहेको छ । अब फर्मल्ली प्रतिवेदन सार्वजनिक गर्ने कुरा हो । सरकारले ढिलो, चाँडो प्रतिवेदन सार्वजनिक गर्छ । समयक्रममा प्रतिवेदन सार्वजनिक हुन्छ ।’
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)