साफ च्याम्पियनशिपः भारतसँग बदला लिने नेपाललाई सुनौलो मौका, उपाधिका लागि आज भिड्दै
भदौ १४, काठमाडौँ । साफ यू–१५ च्याम्पियनशिप अन्तरर्गत आज नेपालले उपाधिका लागि भारतसँग भिड्दै छ । भारतको कल्याणीमा हुने खेल शनिबार (आज) दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा भारतसँग नै पराजित भएपछि त्यसपछिका लगातार तीन खेलमा जित निकालेको थियो ।
भारतसँग हारे पनि टिमले दोस्रो खेलमा श्रीलंकालाई २–० ले पराजित गर्दै विजयी भएको थियो भने बंगलादेशलाई ४–१ ले पराजित गरेको थियो । त्यसपछि भुटानलाई ६–० ले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।
अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल भारतसँग १–० ले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुवै पटक हारेको थियो । समूह चरणमा दुई–एकले हारेको नेपाल फाइनलमा पनि त्यही नतिजाले पराजित भएको थियो ।
null
यस्तै २०१५ मा भएको प्रतियोगितामा पनि नेपाल सेमिफाइनलमा भारतसँग नै १–० ले पराजित भएको थियो । त्यसैगरी सन् २०१३ मा भएको नेपाल र भारत फाइनलमा भिड्दा नेपाल १–० ले पराजित भएको थियो । २०११ मा पनि नेपाल र भारतको भेट फाइनलमा भएको थियो ।
त्यस बेला पनि नेपालको तगारो भारत नै बनेको थियो । फाइनलमा निर्धारित समयमा १–१ गोलको बराबरी हुँदा पेनाल्टीमा भारत चार दुईले विजयी भएको थियो।