सञ्चारमन्त्रीको चेतावनीः भ्रष्ट कर्मचारीलाई सरकारले छोड्दैन
भदौ ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई भ्रष्टाचार गरे सरकारले कारवाही गर्ने चेतावनी दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले यस्तो चेतावनी दिएका हुन् ।
उनले जनताको काममा पैसा माग्ने, कमिसन माग्ने, पैसाका कारण काम रोक्ने जस्ता कार्य गरेमा तत्काल त्यस्ता कर्मचारीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखलाई निर्देशन समेत दिए ।
उनले भने, ‘कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई छ । यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्छ । भ्रष्टाचार गर्ने तथा भ्रष्टाचारलाई बढावा दिने जो कसैलाई सरकारले छोड्दैन । कारवाही गर्छ । नेपाल सरकार नै भ्रष्टाचारलाई उन्मूलन पार्ने दिशामा अघि बढेको छ ।’
मन्त्री बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए ।
समृद्धिको दिशामा अगाडि बढाउने कि यथास्थितिमा राख्ने भन्ने सबै हात कर्मचारीसँग भएको भन्दै मन्त्री बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न पनि निर्देशन दिए । कर्मचारीका हकहितमा सरकारले काम गरिरहेको पनि उनले स्पष्ट पारे ।
देशमा राजनीतिक क्रान्तिको अध्याय समाप्त भएको भन्दै उनले पाँच वर्षभित्रमा देशको विकास र समृद्धिले काँचुली फेर्ने उनले विश्वास दिलाए ।
उनले जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहेको उल्लेख गर्दै गरीबी र समाजमा व्याप्त कूरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए ।