विवाहमा बम बिस्फोट हुँदा ६३ काे मृत्यु

भाद्र १, काबुल ।  युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६० जनाभन्दा बढी मारिएका छन् ।   

हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ । 

उक्त बिस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ । अमेरिका र तालिबान समूहबीच अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या कटौती गर्ने समेतको व्यापक सम्झौतामा सहमति नजिक पुगेकै समयमा काबुलमा यो भयानक आक्रमण भएको हो । 

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको पुष्टी गरे । राहिमीले घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको पनि जानकारी दिए । अफगान समाजमा वैवाहिक कार्यक्रम भव्य रुपमा हुने गर्दछ । वरवधुको क्षमता बमोजिम सयौं र कहिलेकाहिँ हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ । विवाहमा सामान्यतया पुरुष र महिलाहरु अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिनमा बिताउँछन् । 

शनिबार रातिको यस आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो । समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका शरीरका अंगहरु, च्यातिएका लत्ताकपडा, टोपी, चप्पल र खानेपानीका बोटल यत्रतत्र छरिएका थिए ।   

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो । शिया समुदायमाथि सुन्नी बहुल अफगानिस्तानमा आक्रमण भइरहने गर्दछ, खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गरेको देखिन्छ । काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले यस घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन । 

विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम बिस्फोट हुँदा महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए । फरहागले एएफपीसँगको कुराकानीमा पुरुषहरु रहेको हलतर्फ बिस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै बाहिर हल बाहिर निस्केको बताए । 

घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुँवाले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए, फरहागले भने । बिस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो ।   

विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ । वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ ।  गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ६ जना मारिएका थिए । उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो । एएफपी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *