भारतीय विदेशमन्त्री जयशंकर किन आउँदैछन् नेपाल ? 

 

साउन १९, काठमाडौं । काठमाडौंमा हुने दुई दिने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस जयशंकर भदौ ४ गते नेपाल आउँदै छन् । 

दुई देशबीचको शक्तिशाली संयन्त्र मानिएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीचका सबैखाले मुद्दाहरुको बारेमा छलफल हुने जानकारी दिइएको छ । साथै थाँती रहेका काम गर्नका लागि मातहतका निकायलाई निर्देशन पनि दिने भएकाले यो बैठकको विषेश महत्व छ । 

null

विदेशमन्त्रीका हैसियतमा जयशंकर पहिलो पटक नेपाल आउन लागेका हुन् । जयशंकर यसअघि नेपालको संविधान जारी भएको मिति २०७२ असोज ३ गते भन्दा केही घण्टाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका थिए । 

उनी त्यतिबेला विदेश सचिव थिए । उनले त्यतिबेला संविधान जारी नगर्न दलहरुलाई आग्रह गरेका थिए । नेपाली नेताहरुले उनको आग्रह अस्वीकार गर्दै संविधान घोषणा गरेका थिए । जसले गर्दा भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेको थियो । त्यसैले पनि उनलाई नेपालमा नाकाबन्दीको डिजाइनरका रुपमा लिइन्छ । 

नाकाबन्दी सकिएको एक महिनापछि नै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिव स्तरिय एउटा बैठकमा भाग लिन उनी काठमाडौं आएका थिए । सन् १९८७ मा बनेको आयोगको तेस्रो बैठक सन् २०१४ मा २३ वर्षपछि काठमाडौंमा नै भएको थियो । चौथो बैठक २०१६ मा नयाँ दिल्लीमा भएको थियो भने अहिले पाँचौ बैठक काठमाडौंमा हुन लागेको हो । 

२०१६ को अक्टोबर २६ र २७ का दिन नयाँ दिल्लीमा आयोगको चौँथो बैठक भएको थियो । सो बैठकअघि एजेन्डा बनाउने कार्यमा तत्कालीन विदेश सचिवको हैसियतमा जय शंकर थिए । सँगै नेपालका समकक्षी परराष्ट्र सचिव शंकरदास बैरागी खटिएका थिए । मन्त्रीको हैसियतमा भने नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत र भारतका विदेश राज्यमन्त्री एम जे अकबर सामेल थिए । 

अहिले पाचौं बैठकमा जय शंकर मन्त्रीको हैसियतमा नेपाल आउँदैछन् भने नेपालका परराष्ट्र सचिव बैरागी भने अहिलेपनि सचिवमै कार्यरत छन् । अबको बैठकमा जय शंकर चाहिँ नेपालका समकक्षी प्रदीप ज्ञवालीसँग बैठकमा सहभागी हुनेछन् । बैरागीले भने एजेण्डा तय गर्न आफ्ना भारतीय समकक्षी विजय केशव गोखलेसँग संवाद गर्नुपर्नेछ । 

दुई देशबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा यसपालि पनि जोड दिइने सम्भावना रहेको बैठकसँग जानकार स्रोतले बताएको छ । 

आयोगलाई दुई मुलुकबीचका समग्र सम्बन्धलाई पुनरावलोकन गर्ने अधिकार रहेको छ । तत्काल गर्नुपर्ने र दीर्घकालीन रुपमा गर्नुपर्ने काम तय गर्नुका साथै सडक, रेल, सीमापार सम्बन्ध, जलस्रोत, बाढी, सुरक्षा मामिला, सीमा, पन्चेश्वर परियोजना, सीमा क्षेत्रमा चेकपोस्ट निर्माण, उर्जा, व्यापारलगायतका थुप्रै विषय यसपालि उठ्न सक्ने अनुमान छ । 

अहिले हुन लागेको बैठक गएको फेब्रुअरी महिनामा नै हुनुपर्ने भएपनि भारतीय चुनावको कारण स्थगित भएको थियो । जयशंकरले भ्रमणका क्रममा नेपालका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य राजनीतिक नेताहरुलाई पनि भेट्ने कार्यक्रम तय गरिँदै गरेको स्रोतले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *