‘सरकारले संसदीय समिति गठन गर्छु नभनेसम्म रोष्टमबाट फर्कदैनौँ’

 

साउन १९, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घट्नाको विषयमा संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने बताएका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले छानविन समिति गठन नगरेसम्म र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरुद्ध जारी रहने चेतावनी दिएका हुन् उनले भने, ‘संसद अवरोध गर्ने हाम्रो ईच्छा होइन । हामीले यो चाहेका छैनौँ । यो हाम्रो बाध्यता हो ।’ 

null

कर्णले सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नको लागि सरकारलाई तीन पटकसम्म निर्देशन दिएको अवस्थामा अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारप्रति कडा आपत्ति जनाए । उनले भने, ‘सरकार त संसदबाट जन्मिएको हो । संसदको निर्देशन पालना गर्नुपर्छ । तर, अहिलेको सरकारले निर्देशन पालना गरेको छैन । सरकारले पनि प्रतिवेदन सार्वजनिक गर्छु भनेर अहिलेसम्म सार्वजनिक गरेको छैन । यो त निकृष्ट काम हो ।’ 

संसदको रोष्टममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छु भनेर बोलिसकेको तर अहिलेसम्म सार्वजनिक नगरेकोमा कर्णले गुनासो पोखे । उनले भने, ‘६ महिना भैसक्यो, अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन । सरकारले सभामुख र संसदको मर्यादामाथि खेलवाड गर्न मिल्दैन । बाध्य भएर हामी विरोधमा उत्रिएका हौँ ।’ 

कर्णले सर्लाहीमा गैरन्यायिक हत्या भएकोले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको स्पष्ट पारे । संसदीय इतिहासमा पहिलोपटक संसदीय समिति गठन नभएको सुनाउँदै अब समिति बनाउँदा के को ? आपत्ति भयो ? भन्दै उनले प्रश्न गरे । 

समिति गठन गर्दा गैरन्यायिक हत्यामा सरकार संलग्न भएको कुरा सबैले थाहा पाउँछन् र आफू उदांगो भईन्छ भन्ने डरले समिति गठन गर्न सत्तापक्षले नमानेको पनि कर्णको गम्भिर आरोप छ । 

‘सत्तापक्षले समिति गठन गर्नेलगायतका हाम्रा मागका बारेमा एस नभनेसम्म हामी रोष्टमबाट फकर्न बाटो छैन’ उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *