रुट बदल्दै सुन तस्करी, यी हुन् नयाँ रुट

काठमाडौं, १२ साउन । संगठित तस्करहरूले चीन र खाडी देशबाट नेपाल भित्र्याइएको अवैध सुन रुट बदल्दै भारतीय बजारसम्म पुर्‍याउने गरेका छन् । पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र रसुवाको केरुङ नाकाबाट नुवाकोट हुँदै काठमाडौं भित्रिने ठूलो परिमाणको सुन स–सानो परिमाणमा गाडीबाट भारतीय बजारसम्म पुर्‍याइन्थ्यो । सरकारले ती दुवै ठाउँमा कडाइ गरेपछि तस्करहरूले फरक शैली र रुट प्रयोग गरेको पाइएको छ । 

साउन ९ मा गोरखाको धार्चे गाउँपालिका–३ को ओडारमा भेटिएको १६ केजी अवैध सुन पछिल्लो उदाहरण हो । यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । गृह मन्त्रालयमा साउन ७ मा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले संगठित सुन तस्करी नियन्त्रणमा मूलभूत रूपमा सफल रहेको र तस्करीको सन्जाल ध्वस्त भएको दाबी गरेको दुई दिनपछि गोरखामा अवैध सुन भेटिएको थियो ।प्रहरीका उच्च अधिकारीहरू चल्तीको रुट र शैली बदलिए पनि संगठित सुन तस्करी निरन्तर भइरहेको बताउँछन् । अहिले तस्करहरूले केरुङ नाकाबाट भित्रिएको सुन गोरखा र लमजुङका विभिन्न रुट हुँदै पोखरा पुर्‍याएर बुटवल हुँदै सुनौली नाका कटाएर भारत पुर्‍याउने गरेको देखिन्छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार लमजुङ, गोरखा, चितवन हुँदै भारत पुर्‍याउने अर्को गिरोह पनि सक्रिय हुन थालेको देखिन्छ ।जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम अधिकारीका अनुसार ओडारमा भेटिएको सुन गोरखा र तिब्बतको सिमानामा रहेको छेकम्पार नाका हुँदै भित्रिएको अनुमान छ । छेकम्पारबाट गोरखा सदरमुकामा आउन तीन दिनको पैदल यात्रा गर्नुपर्छ । व्यापारीहरूले घोडा र खच्चड प्रयोग गरेर सामान ओसारपसार गर्छन् । सामान ओसारपसार गरिने त्यही रुटलाई संगठित सुन तस्करहरूले उपयोग गरेको प्रहरीको अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *